गाउँ–गाउँमा उज्यालो बनाउने लहर

0
Shares

नेपाल समाचारपत्र, हेटौंडा
मकवानपुरका विकट क्षेत्रहरुलाई पछिल्लो समय स्थानीय निकाय र निर्वाचित जनप्रतिनिधिहरुद्वारा बिजुलीको पहुँचमा पु¥याउने लहर नै शुरु भएको छ । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–६ रूपाचुलीमा पनि मंगलबारदेखि झलमल्ल बिजुली बलेको छ । गाउँपालिकाको सबभन्दा विकट रुपाचुलीमा फलामे पोल गाडेर बिजुली बालिएको हो ।
मानिसका लागि आवश्यक सामान्य पूर्वाधार खानेपानी, सडक, बिजुलीको समस्या भोग्दै आएका नागरिकका लागि मकवानपुर क्षेत्र नम्बर २ का सांसद विरोध खतिवडाको पहलमा चुहार भञ्ज्याङबाट बालभञ्ज्याङसम्म करिब ३६ लाख लागतमा तार तानिएपछि गाउँ उज्यालो बनेको हो । बिजुलीको स्विच अन गरेर सांसद खतिवडाले मंगलबार बिजुली उद्घाटन गर्नुभयो । सामान्य आवश्यकतासमेत पूरा नभएको गाउँमा चुनावमा गरिएका प्रतिवद्धता पूरा गरिएको भन्दै उहाँले उक्त क्षेत्रमा विद्युत्, सडक र खानेपानीको पहल भइरहेको विश्वास दिलाउनुभयो ।
उक्त गाउँसँगै अर्को विकट राक्सिराङ गाउँपालिकामा उज्यालो कार्यक्रमका लागि पनि विद्युत् विस्तार भइरहेको सांसद खतिवडाले बताउनुभयो । नेपाल विद्युत् प्राधिकरण मकवानपुरको बजेट ८ करोड छ । त्यसको कयौं गुणा बढी विद्युत् बजेट संघीय सांसद खतिवडाले ग्रामीण भेगमा पार्नुभएको छ ।
कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले मनहरीको विकट रूपाचुलीमा विकासको मूल फुटेको भन्दै उक्त क्षेत्रमा नेकपाले चुनावका बेलामा गरेका प्रतिवद्धताअनुसार काम भइरहेको र अन्य प्रतिवद्धता पनि पूरा गरेरै छाडिने बताउनुभयो ।
इपापञ्चकन्यामा पहिलोपटक बस
भीमफेदी गाउँपालिका वडा–८ इपापञ्चकन्यामा पहिलोपटक यात्रुवाहक बस पुगेको छ । महादेवटारदेखि कान्तिलोकपथ, ठिंगन हँुदै हेटौंडासम्म यात्रुबाहक बस सञ्चालनमा आएको हो ।
अन्य मोटरबाटो भए पनि यात्रुबाहक बस भने चल्ने गरेको थिएन । समाजसेवी श्रीराम कठायतको व्यक्तिगत पहल तथा स्थानीयको चासोलाई मध्यनजर गर्दै सुविधास्वरूप बस सञ्चालन गरिएको हो ।
वडा–२ का शंकरबहादुर लुङ्बाले पहिलोपटक गाउँमा गाडी पुगेपछि निकै हर्षित भएको महसुस गर्नुभयो । भारी बोकेर दुई घण्टा हिँड्दै आउनुभएका लुङ्वा अब यातायात सञ्चालनमा आएपछि गाडीमै सामान ल्याउन आतुर हुनुहुन्छ ।
सानु स्याङ्तान पनि गाडी सञ्चालनमा आएपछि तरकारी बिक्रीमा सहज हुने आस राख्नुहुन्छ । स्थानीयले आफ्नो बारीमा उत्पादन भएका तरकारी र खाद्यान्नलगायत सामानहरु ओसारपसार सहज हुने महादेवटार–कान्तिलोकपथ–हेटांैंडा बस सञ्चालन समिति अध्यक्ष कठायतले जानकारी गराउनुभयो । बस सञ्चालनपछि ऐतिहासिक, धार्मिक तीर्थस्थल नटारम्मेश्वर महादेव मन्दिर दर्शन गर्न सहज हुने अध्यक्ष कठायतले विश्वास छ ।
उक्त ठाउँबाट हेटौंडा बजारसम्म आइपुग्न दैनिक बिहान ६ बजे छुट्ने र हेटौंडाको कान्तिराजपथ ओम भवनबाट २ बजे गाउँका लागि छुट्ने अध्यक्ष कठायतले बताउनुभयो । हाल इपापञ्कन्यासम्म पुग्ने दुईवटा बस सञ्चालनमा रहेको उहाँको भनाइ छ । स्थानीयको आवश्यकताअनुसार महादेवटारबाट काठमाडौंसम्म एकवटा बस राख्ने लक्ष्य रहेको उहाँको भनाइ छ ।