निरास जनता

0
Shares

बढ्दो कोरोना संक्रमणका कारण मुलुकको दैनिकी अस्तव्यस्त बन्दै गएको छ भने राज्य सञ्चालकहरु अहिले सत्ताको लुछाचुँडीमा व्यस्त देखिएका छन् । विश्वका चाहे गरिब मुलुक हुन् चाहे धनी मुलुकका सरकार हुन् उनीहरुको कोरोना संक्रमणलाई कसरी कम गर्न सकिन्छ भनेर लागिपरेका छन् भने नेपालमा सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि खासै चाखलाग्दो पहल अघि बढाएको देखिँदैन ।

राजधानी उपत्यकालगायत घनाबस्ती भएका ठाउँंमा यो महामारी तीव्ररूपमा फैलँदो अवस्थामा रहेको छ भने ग्रामीण क्षेत्रमा पनि संक्रमण समुदायस्तरमा फैलँदो अवस्थामा रहेको छ । कोरोना संक्रमणलाई ख्याल–ख्यालका रूपमा लिने जनताको बानीले पनि यो तीव्ररूपमा फैलन थालेको देखिन्छ । कोरोना संक्रमण नेपालमा नदेखिँदा सरकारले लकडाउन घोषणा गरेर केही महिना जनतालाई घरमा बस्न बाध्य बनाएको भए पनि अहिले राजधानीको अवस्था भयावह हुंँदासमेत सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि घोषणा गरेको कार्यक्रमसमेत प्रभावकारीरूपमा कार्यान्वयनमा ल्याउन सकेको देखिँदैन । एकातिर सरकार लाचार बन्दै गएको छ भने जनता पनि संक्रमणलाई केही होइन भन्दै जथाभावी हिँडडुल गरिरहेका छन् ।

यही कारणले संक्रमणको समस्या बढ्दो अवस्थामा रहेको देखिन्छ । जुन निकायले जे काम गर्नुपर्ने थियो त्यो हुन सकेको अवस्था देखिँदैन । अहिलेसम्म संक्रमणको प्रभावकारी खोप पत्ता नलागेकाले यसको नियन्त्रण भनेको सावधानी नै हो । राज्य संयन्त्रले गर्नुपर्ने काम नगरेपछि जनता आफैं सचेत हुनुपर्ने अहिलेको अवस्थामा जनतामा देखिएको लापरबाही पनि संक्रमण बढ्नुको एउटा मुख्य कारण देखिन्छ । यसतर्फ जनताले समयमा नै ध्यान दिन जरुरी छ । राज्य सञ्चालकहरुले पनि आफैंले गरेका निर्णय कार्यान्वयन भयो कि भएन भनेर हेर्नुपर्नेमा दलभित्रको खिचातानीमा केन्द्रित हुँदा सर्वसाधारण जनताले अनाहकमा ज्यान गुमाउनुपरेको छ भने लाखौं मानिस यसबाट प्रभावित भएर जीवन बचाउन संघर्ष गरिरहेको देखिन्छ । यसतर्फ राज्यको ध्यान जान नसक्नु भनेको लाजमर्दो कुरा हो ।

अहिले पार्टीको विवादलाई थाती राखेर सत्ताधारीहरु एकजुट भएर अघि बढ्नुपर्ने बेलामा पार्टीभित्र गुटबन्दी गर्दै एकले अर्कालाई सिध्याउने खेलमा लाग्नु अर्को दुःखदायी कुरा भएको देखिन्छ । अहिले सत्ता ठूलो होइन, जनताको स्वास्थ्य ठूलो कुरा हो । नेताहरुमा नैतिकता भए त्यसलाई ख्याल गर्नुपर्ने थियो तर त्यता ध्यान दिएको देखिँदैन । ‘काम–कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भन्ने उखानलाई चरितार्थ गर्दै नेताहरुको हरेक दिन आउने वक्तव्यले जनतालाई आहत बनाइसकेको छ ।

कोरोना संक्रमणविरुद्धको खोप प्रकट हुने क्रममा छ । विकसित मुलुक हुँदै नेपालमा आइपुग्न खोपले लामो समय लगाउने सम्भावना छ । यससँगै जिउनु नेपालीको नियति भएको छ । यही सत्यलाई मनन गरेर सरकार र नागरिकले व्यवहार गर्नु आवश्यक छ । जनता रहे मात्र राजनीति अघि बढ्ला, दुई वर्षपछि हुने आमनिर्वाचनमा मत पाइएला । अन्यथा जनतामा निकै ठूलो वितृष्णा सिर्जना भएको छ । कोरोना महामारीका बेलामा पनि कमाउने अभ्यासमा लागेको र राजनीतिक पदका लागि लुछाचुँडी गरेको, मूल समस्यालाई बेवास्ता गरेको भन्दै सरकारप्रति जनता रुष्ट बनेका छन् । समयमै यतातिर ध्यान जाओस् !