विश्वकै अग्लो बन्जी र स्वीङ व्यावसायिकरूपमा सञ्चलन



दुर्गाप्रसाद शर्मा, पर्वत

कालीगण्डकीको खोंचमा पर्वतको सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने आधा किलोमिटर लामो पुलमा बनेको विश्वकै अग्लो बन्जी र स्वीङ व्यावसायिकरूपमा सञ्चालनमा आएका छन् ।

द क्लिफ प्रालिले निर्माण गरेको बन्जी, स्वीङ र नेपालकै एक मात्र स्काई साइक्लिङ तथा गुलेली शैलीको पिङ व्यावसायिक रुपमा सञ्चालन आएका हुन् । झण्डै २८ करोड रुपियाँको लगानीमा सहासिक खेलका परियोजना तयार भएका हुन् ।

कम्पनीले कार्तिक १५ गतेदेखि औपचारिकरूपमा सबै सहासिक पर्यटकीय खेल सञ्चालनमा ल्याएपछि आन्तरिक पर्यटकको घुइँचो लाग्न थालको छ । कालीगण्डकीको गहिरो खाेंचमा ५ सय २५ मिटर लामो लठ्ठामा झुण्डिएको आकर्षक पुल २०७३ सालदेखि निर्माण थालिएको थियो ।

पुल, बञ्जी, स्काई साइक्लिङसँगै रिसोर्टको निर्माण कार्य २०७६ अन्तिममा सकिए पनि लकडाउनले गर्दा सञ्चालनमा आउन सकेका थिएनन् । ‘हामीले नयाँ वर्षमा नै सबै सहासिक पर्यटकीय गन्तव्य पर्यटकका लागि खुल्ला गर्ने सोचमा थियौं ।’

कम्पनीका अध्यक्ष राजु कार्कीले भन्नुभयो–‘लक डाउनले रोकिए पनि अहिले सबै स्वास्थ्य मापदण्ड पूरा गरेर सेवा शुरू गरेका हौं ।’ ५२५ मिटर लामो झोलुङ्गे पुलको बीचमा कालीगण्डकी नदीमाथि बन्जी र स्वीङको लागि जम्प गर्ने प्लाटफर्मको निर्माण गरिएको छ ।

खोलादेखि पुलको उचाई २२८ मिटर अर्थात ७४८ फिट छ । हाल विश्वकै अग्लो बन्जी मकाउमा ७६४ फिट उचाई र दोस्रो अग्लो स्वीट्जरल्यान्डको भरजस्का बाँधमाथि ७२० फिट उचाईमा छ । द क्लिफ प्रालिको यो परियोजनापछि स्वीटजरल्यान्डलाई पछि पार्दै यसले विश्वकै दोस्रो अग्लो र पुलमा बनेको विश्वकै अग्लो बन्जीका रुपमा स्थापित भएको छ । बन्जी र स्वीङ दुवैको मूल्य प्रतिव्यक्ति ७ हजार रुपियाँ तोकिएको छ ।

पोखरादेखि कुश्माको दुईतर्फी गाडीको सुविधासहित बन्जी वा स्वीङको ८ हजार ४ सय ५० रुपियाँ रहेको छ । साथै जोडीका लागि स्वीङको १२ हजार मूल्य निर्धारण गरिएको अध्यक्ष कार्कीले बताउनुभयो । बन्जीमा नेपालकै एक मात्र गुलेली शैलीको पिङ पनि निर्माण गरिएको छ । बन्जीका लागि निर्माण भएको पुलको उचाई २ सय २८ मिटर छ भने सोभन्दा माथि बाइएको पिङको उचाई नदीबाट २ सय ४८ मिटर छ ।

जमिनबाट १२ मिटर अग्लो बनाइएको पिङ नेपालमा अहिलेसम्म बनाइएका पिङभन्दा फरक छ । सामान्यतया पिङमा अरुले हल्लाई दिनुपर्ने हुन्छ । तर, यसमा खेल्ने मान्छे पिङमा बसेपछि पछाडि बाट मेसिनले तानेर हुत्त छोडिन्छ अनि पिङ मचिन्छ । पिङ खेल्न प्रतिव्यक्ति २ सय ५० रुपियाँ निर्धारण गरिएको छ ।

यसैगरी स्टील कोर केबल प्रयोग गरी स्काई साइक्लिङ तयार गरिएको हो । विश्वकै सबैभन्दा उचाईमा सञ्चालित कालीगण्डकी खोंचको स्काई साइक्लिङ २ सय २८ मिटर अग्लो छ भने लम्बाई तीन सय मिटर छ । दुइतर्फी ३ सय मिटर लम्बाई रहेको रुटमा एक पटकमा दुई जनाले साइक्लिङ गर्न मिल्ने अध्यक्ष कार्कीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्