‘उद्योगी व्यवसायीले राहत पाएनन्’



मकवानपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष एवम् खाद्यान्न व्यवसायी कृष्णकुमार गुप्ता (अग्रवाल) संघले बनाएको राहत वितरण समितिका संयोजक हुनुहुन्छ । उक्त कार्य हेटौंडामा प्रभावकारी देखिएको छ ।

उद्योग वाणिज्य संघले कोभिड–१९ का कारण प्रभावित विपन्नलाई दशैंको अवसरमा राहत सामग्री वितरण थालेको छ । संघले दशैं विशेष लक्षित गरी चिउरा ५ किलो, तेल आधा लिटर, मसला २ सय ग्राम, नुन १ किलो, बिस्कुट ३ प्याकेट, साबुन १ प्याकेट बितरण जारी राखेको छ । संघले करिब तीन लाखको राहत बितरण गर्ने योजना बनाएको छ ।

बजारमा राहत वितरण गर्दा एकै परिवारका ३/४ जना र हुनेखाने पनि राहत लिन आउने समस्या भएपछि अब वडा कार्यालयसँग समन्वय गरेर अतिविपन्न परिवारलाई राहत बितरण थालिएको छ । यसै सन्दर्भमा नेपाल समाचारपत्रका लागि रोशन पराजुलीले अग्रवालसँग गरेको कुराकानी :

दशैं तिहारमा तपाईंहरुले कसरी काम गरिरहनुभएको छ ?

हालको अवस्थामा व्यवसायीहरूले राज्यले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर काम गरिरहेका छन् । आफ्नो तरिकाले व्यवसाय गर्न पाउने चाहना व्यवसायीको छ ।

उद्योग वाणिज्य संघमा बसेर तपाईंले के कस्ता काम गर्दै आउनुभएको छ ?

संघमा बसेर मैले सामाजिक उत्तरदायित्व अनुसार काम गरिरहेको छु । जहिले पनि व्यापारीले कालोबजारी गरेको भनेर आरोप लगाउने हुँदाहुँदै पनि मैले सधैं व्यापारीको हितमा बसेर ग्राहकको सेवा गरेको छु ।

व्यवसायीका समस्या के छ अहिले ?

कोरोना जस्तो महामारीमा व्यापारी मारमा परेको र कतिपय व्यापारी त उठ्नै नसक्ने स्थितिमा छन् । राज्यले अरु ठाउँमा हेरे पनि व्यवसायी क्षेत्रमा कुनै पनि सहुलियत दिएन । त्यसले गर्दा व्यवसायीलाई हालको अवस्थामा बैंकको ब्याज मिनाहा गर्नुपर्छ भन्ने सरकारलाई माग गर्दछु ।

उद्योग वाणिज्य संघको चुनाव नजिकिँदै छ । चुनावमा तपाईं उठ्नुहुन्छ होला नि ?

चुनावी प्रक्रिया तीन वर्षमा एकचोटी आउने कुरा हो । म लामो समयदेखि संघमा क्रियाशील रहँदै आएको छु । संघमा २०४२ सालदेखि नै साधारण सदस्य हुँ । ४/५ कार्यकालसम्म म चुनाब लडिसकेको छु । अब यस वर्ष व्यवसायीले माया गरेको हँुदा योे एउटा छाता संगठनमा व्यवसायीले विश्वास गरेकोले अध्यक्षमा उठ्ने साथी, दाजुभाइ/दिदीबहिनीसँग सरसल्लाह भइरहेको छ ।

तपाईले चुनाव जित्नुभयो भने केकस्ता काम गर्नुहुन्छ ?

मलाई उद्योग वाणिज्य संघको अध्यक्ष बनाउनुभयो भने म व्यवसायीका लागि पर्न जाने समस्याहरू करको समस्या, स्थानीय सरकारसँग समन्वयकारी भूमिकाका साथै बजार व्यवस्थापनका समस्या समाधान गर्ने विश्वासको आधार बनाउँछु ।

बजारमा भएको ट्राफिक व्यवस्थापन, फुटपाथ व्यवस्थापन गर्न पहल गर्छु । संस्थाको स्तरलाई पनि उच्च ठाउँमा पुग्ने गरी काम गर्छु । उद्योगका मजदुरको समस्यामा हुने बन्द/हड्ताल नगरी उद्योगी/व्यवसायीलाई आफ्नो व्यवसाय ढुक्क साथ चलाउने अवस्था सिर्जना गर्ने प्रयास गर्नेछु ।

प्रतिक्रिया दिनुहोस्