कोरोनाबाट पराजित सरकार



सात महिनाको अवधिमा नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघिसकेको छ । छ सयभन्दा बढी नागरिकहरुले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् । पछिल्लो तथ्याङ्कलाई हेर्ने हो भने एकै दिन पाँच हजार व्यक्ति सम्मलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

गत चैतमा एक जनालाई कोरोना संक्रमण पुष्टि हुँदा सरकारले चार महिना लकडाउन गरेको थियो । तर अहिले दैनिक पाँच हजार व्यक्तिलाई कोरोना संक्रमण हुँदासमेत सरकारले नियन्त्रण र रोकथामको लागि ठोस कदम चाल्नतिर ध्यान नै दिएको छैन । राजधानी काठमाडौं उपत्यकाभित्र आइसोलेसन र भेन्टिलेटर बेड कोरोना संक्रमितले भरिएका छन् । राजधानी बाहिरका अस्पतालमा पनि कोरोना संक्रमित बिरामीलाई भर्ना गर्ने बेडको अभाव हुँदै गएको छ ।

सरकारले सुरुको दिनमा जसरी सक्रियता देखाएको थियो अहिले आएर जिम्मेवारीबाट पन्छिएको हो कि भन्ने आभास नागरिकहरुले गर्न थालेका छन् । सात महिनाको अवधिमा सरकारले गर्नसक्ने काम धेरै थियो । अस्पतालमा आइसोलेसन र भेन्टिलेटर यन्त्र थप्न सकिन्थ्यो । औषधी खरिद प्रकरणमा विवादमा तानिएपछि सरकारले औषधी उपकरण खरिद गर्नको लागि पर्याप्त ध्यान नै दिन छोडेको छ ।

आपत–विपद पर्दा नागरिकहरुले सरकारसँग आशा र भरोसा गर्छन् । आपत् पर्दा पनि सरकारको अभिभाकत्व नपाउने हो भने स्वाभाविक रुपमा प्रश्न उठछ– आखिर सरकार केका लागि ? सरकारले अहिले गर्नुपर्ने मुख्य काम कोरोना नियन्त्रण र रोकथाम नै हो । सरकारले पुनः लकडाउन नगर्ने अडान लिदै आएको छ । तर कोरोनाबाट नागकिरहरुलाई बचाउन अहिलेसम्म सरकारले ठोस विकल्प दिनसकेको छैन ।

नागरिकरुको जीवन रक्षा गर्नको लागि लकडाउन नगर्ने हो भने अवस्था थप भयावह बन्दैजाने निश्चित छ । किनकि अहिलेसम्म कोरोनाको औषधी प्रयोगमा आइसकेको छैन । कोरोना विद्धरुको खोप बनेपनि प्रयोगमा नआउँदा थप अन्योल कायमै छ । कोरोना विरुद्धको भ्याक्सिन आउने बेलासम्म सरकारले देशभित्रको सम्पूर्ण स्रोत–साधन परिचालन गरेर नागरिकहरुलाई बचाउनुपर्छ ।

यस महामारीको बेला नागरिकहरुले सरकारको साथ र सहयोग खोजी रहेका छन् । यस्तो बेलामा सरकारले आफ्नो दायित्व र कर्तव्य पूरा गर्नुपर्छ । नेपालीहरुको चाडपर्व नजिकिदै आएको छ । शहरबाट गाउँ जाने क्रम सुरु भएको छ । शहरी क्षेत्रमा फैलिएको कोरोना अब गाडी चढेर गाउँगाउँसम्म जाने क्रम पनि सुरु भएको छ । सार्वजनिक यातायातमा कुनै पनि स्वास्थ्य मापदण्ड पूरा भएको छैन । भिडभाड दिनप्रतिदिन बढ्दै गएको छ ।

शहरबाट गाउँ जाने क्रम स्थानीय तहको सरकारले पनि रोक्नसक्ने अवस्था छैन । किनकि सीमाबाट आफ्ना नागरिकलाई फर्काउने काम त्यति सजिलो छैन । लकडाउन पनि नगर्ने, कोरोनाबाट नागरिकहरुलाई बचाउन तत्काल कुनै पनि कदम नचाल्ने हो भने कोरोना महामारीले थप संकट निम्त्याउने पक्का छ । सरकारले तत्काल ठोस कदम चालेर नागरिकहरुको जीवन रक्षा गर्न लाग्नुपर्छ । उसले कोरोनासँग पराजित भएको आभास दिनुहुन्न ।

 

प्रतिक्रिया दिनुहोस्