हजार किलोमिटरको यात्रा : भविष्य खोज्दै ‘एसओएस बालग्राम’



मोतीराम तिमल्सिना, काभ्रे । 

एक हजार किलोमिटरको यात्रा पछि ६ जना बालिका उज्जवल भविश्यका लागि एसओएस बालग्राम आईपुगेका छन् । एसओएस बालग्राम काभ्रेमा बैतडी जिल्लाको दशरथचन्द्र नगरपालिका वडा नम्वर १० घर भई अभिभावक विहिन भएका एकै परिवारका ६ जनालाई संरक्षकत्व प्रदान गरिएको छ ।

‘१५ वर्ष देखि चारवर्षसम्मका दिदी बहिनीहरु एसओएस बालग्रामका छोरी भएका छन्’–बालग्राम निर्देशक सुरेन्द्र आम्गाईले भन्नुभयो–‘उनिहरु जस्तै विपदमा परेका यहि वर्ष मात्रै २० जना सदस्य थपिएका छन् । बालग्राम १ सय २० छोराछोरी, २० जना आमा सहित १ सय ५० जनाको ठुलो परिवार बनेको छ ।’ धनगढी र सुर्खेतमा रहेको एसओएस बालग्राममा स्थान अभाव भए पछि काभ्रेको टोली बैतडी पुगेको थियो ।

दुई वर्ष देखि अभिभावक विहिन सन्तानको रेखदेख र अभिभावकत्व नभएको समाचार सार्वजनिक भए पछि एसओएस बालग्राम काभ्रेले अभिभावकत्व ग्रहण गर्ने चासो राखेको थियो । स्थानीय प्रशासन, नगरपालिका र आफन्त समेतले बालग्राम उपयुक्त संस्था भएकाले जिम्मेवारी प्रदान गर्न उपयुक्त हुने निर्णय भए पछि गत विहिबार बालिकाहरु एसओएस बालग्राम काभ्रेको जिम्मेवारीमा हस्तान्तरण गरिएको थियो । बालग्रामका निर्देशक सुरेन्द्र आम्गाई, नायव निर्देशक विनोदमणी भट्टराई, सहायक निर्देशक प्रकाश अर्यालय र कमल भगतको टोलीले सोमबार काभ्रेबाट बैतडी पुगेर आईतबार बालग्राम ल्याई पुर्‍याएको हो ।

बैतडीको दशरथचन्द्र नगरपालिका वडा नम्वर १० झुलाघाटसँगै लावड समुदायको बसोबास रहेको छ । महाकाली भारत र वारी नेपाल रहेको झुलाघाट सिमानाबाट सहजै आवतजावत हुने गरेको छ । राजुराम लावड र मिनादेवी लावडको कोखबाट जन्मेका ६ सन्तान अभिभावक विहिन बनेका हुन् । निलम १५ वर्षकी भईन् । उनी कक्षा ८ मा पढ्दै थिईन् । इन्द्रा १३ वर्षकी भईन् । पार्वती ११ वर्षकी भईन् । इन्द्रा र पार्वती कक्षा ५ मा अध्ययन गर्छन । लक्ष्मी १० वर्षकी छिन् । विन्दुकुमारी ८ वर्षकी भईन् । लक्ष्मी र विन्दु कक्षा ३ मा अध्ययन गर्दै छन् ।

माया चार वर्षकी भईन् । निलमले घर नजिकै रहेको रातमाटे मावीमा सबै बहिनीहरुलाई विद्यालय लैजाने गरेकी थिईन् । माया ११ महिनाको हुँदै थिईन आमा मिनादेवी छिमेकी देश भारत नुन तेल किन्न बजार गएकी थिईन । आजसम्म फर्किएकी छैनन । सम्पर्क समेत छैन । भारतको उत्तराखण्डमा रहेको मामाघरमा समेत पटक पटक सोधखोज भयो तर मिनादेवीको अत्तोपत्तो छैन । राजुराम ज्यालामजदुरी गर्दै आएका थिए ।

दुई वर्ष अघि दमको रोगबाट निधन भए पछि अभिभावक विहिन बालिकाहरुलाई नगरपालिका, स्थानीय संघ संस्थाले सहयोग गरिरहेको थियो । अध्ययन र शिक्षाका लागि सहयोग पुर्‍याए पनि अभिभावकको संरक्षण नहुँदा भविश्य अन्धकार थियो । स्थानीयहरुले संकलन गरेको १ लाख ६५ हजार रुपैया निलम सहितको नाममा खाता खोलेर राखिएको छ । १६ वर्ष पुगेपछि मात्रै उनिहरुले उक्त रकम चलाउन पाउने छन् । निलमले बालग्रामबाट प्राप्त ज्ञान र संरक्षणलाई समुदायमा प्रयोग गर्ने योजना रहेको बताउनु भयो । संकटमा उद्धार गर्ने बालग्राम र सहयोग गर्ने सम्पूर्णलाई निलमले धन्यवाद दिनु भएको छ ।

बालिकाहरुले एसओएस बालग्रामको मनोहरा घरमा आमा अम्बिका सिंखडाको संरक्षकत्व पाएका छन् । ‘बालग्रामका छोरीहरुको शिक्षा र दिक्षा समेत हामी गर्नेर्छाैं’–बालग्राम निर्देशक अम्गाईले भन्नुभयो–‘बालग्राम घर हो, घरमा भएका सन्तानहरुको सबै जिम्मेवारी हाम्रो हो ।’ शुरुमा शहरको रहनसहन र गाडी चढेका मान्छे देखेर बालिकाहरु अचम्ममा परे । उनिहरुको विदाईमा स्थानीय प्रशासन, स्थानीय सरकार तथा सहयोगिहरुले आँशु झारेका थिए ।

सिन्धुपाल्चोकको लिदी, जलविरेमा गएको पहिरोका कारण अभिभावक विहिन १० बालबालिका र दोलखाको चरिकोटमा अभिभावक विहिन भएका एकै परिवारका चार बालबालिकाहरुलाई एसओएस बालग्राम काभ्रेले संरक्षण गरेको छ । यहि वर्ष मात्रै २० जना अभिभावक विहिन बालबालिकाहरु एसओएस बालग्रामको सन्तान भएका छन् । ‘बालग्रामका छोराछोरी १ सय २० जना पुगेका छन्’–निर्देशक आम्गाईले भन्नुभयो–‘सबै बालबालिकाहरुलाई समान रुपले अभिभावकत्व प्रदान गर्नेर्छाै ।’

प्रतिक्रिया दिनुहोस्