दोलखाका प्रहरी निरीक्षक तामाङ बने सर्वोत्कृष्ट



न्युज अफ नेपाल, हेटौंडा ।

महानगरीय प्रहरी पहरा गण मुका सामाखुशी काठमाडौं दरबन्दी भएर इलाका प्रहरी कार्यालय, सिंगटी दोलखामा कार्यरत् प्रहरी निरीक्षक सुनजित तामाङ सर्वोत्कृष्ट घोषणा हुनुभएको छ ।

उहाँले विभिन्न गैरकानुनी क्रियाकलापमा संलग्न व्यक्तिलगायत फरार प्रतिवादी पक्राउ गरी कानुनको दायरामा ल्याएर आफ्नो जिम्मेवारी इलाकामा अपराध नियन्त्रण तथा शान्तिसुरक्षा कायम राख्न सफल भएको भन्दै उत्कृष्ट घोषणा गरिएको बागमती प्रदेश प्रहरी कार्यालयका सूचना समन्वय अधिकृत प्रहरी निरीक्षक रोशन थापाले बताउनुभयो ।

प्रदेश प्रहरी कार्यालय तथा मातहतमा कार्यरत् प्रहरीबाट सम्पादित कार्यको उचित मूल्यांकन गरी कार्यसम्पादनको स्तरमा प्रभावकारिता एवम् थप हौसला प्रदान गर्ने उद्धेश्यले प्रदेश प्रहरी कार्यालयबाट जारी भएको ‘महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधि २०७७’ अनुसार गठित पुरस्कार छनौट समितिले उहाँलाई सिफारिस गरेको हो ।

सिफारिस समिति अध्यक्ष प्रहरी बरिष्ठ उपरीक्षक सुदीप गिरीको अध्यक्षतामा बसेको बैठकले सिफारिस भएका उत्कृष्ट कार्य गर्ने प्रहरीको नामावली अध्ययन गर्दा तामाङले कोरोना महामारीविरुद्ध जनचेतनामूलक कार्यक्रमलगायत संक्रमितको व्यबस्थापनमा उत्कृष्ट कार्यसम्पादन गर्नुका साथै वर्षाका कारण बाढीपहिरोको उच्च जोखिममा रहेका बस्तीलाई सम्बन्धित निकायसँग समन्वय गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थापाले बताउनुभयो ।

उहाँले सम्पादन गरेको कार्यलाई सर्वोकृष्ट ठह¥याएर भदौको सर्वोत्कृष्ट प्रदेश प्रहरीका रुपमा घोषणा गरी अभिलेखमा जनिने गरी नगद पुरस्कारले पुरस्कृत गरिएको हो ।

बागमती प्रदेश प्रहरी कार्यालयले आफ्नो प्रत्यक्ष मातहतका कार्यालयका प्रहरीमध्ये उत्कृष्ट कार्य गर्ने एक प्रहरीलाई सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गर्ने कार्य थालनी गरेको छ । सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणाका लागि बागमती प्रदेश प्रहरी कार्यालयअन्तर्गत् दश जिल्ला प्रहरी कार्यालय, तालिम केन्द्र, गण, दंगा र प्रदेश ट्राफिक गरी १६ प्रहरी कार्यालयबाट प्रहरीको कार्य विवरण प्राप्त गरी एक जनालाई उत्कृष्ट प्रदेश प्रहरी घोषणा गर्न बागमती प्रदेश प्रहरीले उत्कृष्ट प्रहरी छनौट कार्यविधि २०७७ तयार गरी कार्यान्वयनमा ल्याएको छ ।

कार्यविधिअनुसार बागमती प्रदेश प्रहरी कार्यालयले महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी र मातहतका कार्यालयले हरेक महिना उत्कृष्ट प्रहरी घोषणा गर्नेछन् । प्रदेश प्रहरी कार्यालयमा महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरीका लागि सबै मातहत कार्यालयले नामावली सिफारिस गर्नेछन् भने प्रदेश कार्यालयबाट छनौट भएका बाहेक प्रहरी आआफ्नो कार्यालयको महिनाको उत्कृष्ट प्रहरी हुने व्यबस्था कार्यविधिमा छ ।

कार्यविधिको व्यबस्थाअनुसार साउनमा १५ प्रहरी पुरस्कृत भएका थिए । भदौमा पनि सोही संख्यामा प्रहरी पुरस्कृत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्