चीनमा आदीवासी मंगोलियन समुहको विरोध



बेइजिंग,(एजेन्सी) ।

उत्तरी चीनमा मंगोलियन आदीवासी समूहले मंगोलियन भाषालाई विस्थापित गर्दै विस्तारै पठनपाठनमा चिनिया भाषा प्रयोग गरिन लागेको विरुद्ध र्‍यालीहरुको आयोजना गरेको छ । मंगोलियन समुहबाट भएके यस प्रदर्शनलाई दूर्लभ घटनाको रुपमा हेरिएको छ ।

मंगलवार देखि शुरु भएको नयाँ शैक्षिक सत्रका क्रममा अभिभावकहरुले आफ्ना बालबालिकालाई बिद्यालय जानबाट रोकेर यस नीति विरुद्ध विरोध पोखेको स्थानिय संचार माध्यमले जनाएको छ । नयाँ नियम अनुसार भित्री मंगोलियामा तीनवटा महत्वपूर्ण विषय चीनको औपचारिक भाषा अर्थात मन्डारिनमा पढाई हुने भएको छ । अधिकांश आदीवासी मंगोलियनहरुले यसलाई आफ्नो साँस्कृतिक पहिचान प्रतिको ठूलो खतराको रुपमा लिएका छन् ।

यसै सप्ताहान्तमा थुप्रै शहरमा देखा परेको यस सम्बन्धी विरोध र्‍यालीमा विद्यार्थी र अभिभावकहरुको बाक्लो उपस्थिती रहेको छ । अमेरिकी सरकारको आर्थिक लगानीमा संचालित रेडियो फ्एसियाका अनुसार प्रदर्शनकारीहरुले , ‘ हाम्रो भाषा मंगोलियन हो र हाम्रो मातृभुमि सदैव मंगोलिया नै रहनेछ ! ’ भन्ने नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्