भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधन



काठमाडौं, (नेस)
भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको सोमबार ८४ वर्षको उमेरमा निधन भएको छ । कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमितसमेत बनेका मुखर्जीको सोमबार नयाँ दिल्लीस्थित आर्मी आरआर अस्पतालमा निधन भएको हो । कोरोना संक्रमणपछि उपचाररत मुखर्जीलाई केही दिनदेखि कोमामा राखिएको थियो । सोही अस्पतालमा उहाँको मस्तिष्कको सर्जरी पनि गरिएको थियो ।

गत अगस्ट १० मा उहाँलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । गत मंगलबारदेखि नै मुखर्जीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको थियो । अस्पतालका अनुसार उहाँको फोक्सोको संक्रमणका कारण उहाँलाई ‘सेप्टिक सक’ भएसँगै अवस्था गम्भीर बन्दै गएको थियो । सेप्टिक सक संक्रमणका कारण निम्तिने गर्छ । यसले शरीरमा अत्यधिक परिवर्तन निम्त्याउँछ । रक्तचापमा अत्यधिक गिरावट आएपछि सेप्टिक सक हुने गर्छ । मंगलबार राती उहाँलाई भेन्टिलेटरको सहायतामा राखिएको थियो ।

उहाँका छोरा अभिजित मुखर्जीले सामाजिक सञ्जाल ट्विटरमार्फत् उहाँको निधन भएको पुष्टि गर्नुभएको हो । ‘भारी मनका साथ यो जानकारी गराउँदै छु, आरआर अस्पतालका डाक्टरको सक्दो प्रयास र भारतभरका मानिसको प्रार्थनाका बाबजुद हाम्रा बुबा प्रणव मुखर्जी अहिले भर्खरै बित्नुभएको छ।’ –अभिजितले ट्विटरमा लेख्नुभएको छ ।

भारत रत्नबाट विभूषित मुखर्जी सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति हुनुहुन्थ्यो । उहाँ सन् २००९ देखि २०१२ सम्म रक्षामन्त्री र सन् २००४ देखि २००६ सम्म विदेशमन्त्री हुनुहुन्थ्यो । उहाँ विभिन्न सरकारी ओहोदामा रही नेपाल मामिलामा प्रत्यक्ष संलग्न हुनुहुन्थ्यो ।

प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वराष्ट्रपति मुखर्जीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले ट्विट गर्दै मुखर्जीप्रति श्रद्धाञ्जली र शोकसन्तप्त सबैमा समवेदना प्रकट गर्नुभएको हो ।

‘भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनको समाचारले म निकै दुःखी बनेको छु’, प्रधानमन्त्री ओलीले ट्विटरमा लेख्नुभएको छ– ‘भारत सरकार, त्यहाँका जनता र उहाँको परिवारप्रति समवेदना प्रकट गर्दछु ।’ मुखर्जीको निधनबाट देशले ठूलो मित्र गुमाएको पनि प्रधानमन्त्रीले जनाउनुभएको छ । नेपाल–भारत सम्बन्ध मजबुत पार्न मुखर्जीले खेलेको भूमिका सधैं स्मरणीय रहने प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्