मौसमी रुघाखोकी र ज्वरोबाट नआत्तिनुहोस्



संसारभर कोरोना महामारीले मानिसहरुको अवस्था बेहाल बनाएको छ । नेपालमा पनि यसको असर तीव्र गतिमा बढिरहेको छ । बर्खायाम सकिनेबित्तिकै सामान्यरुपमा देखा पर्ने मौसमी रुघाखोकी र ज्वरोका कारण मानिसहरु कोरोना संक्रमण भयो कि ? भन्ने आशंकामा मानसिकरुपमा चिन्तित बन्ने अवस्था छ । यस्तोमा हामीले नआत्तिई यसलाई सामान्यरुपमा निको पार्न सकिन्छ ।

नेपालमा वर्षमा दुईपटक जाडो याम सकिएपछि चैत्र–वैशाखतिर र बर्खा सकिने भदौतिर भाइरसका कारण हुने बिमारी बढ्ने गरेका छन् । रूघाखोकीलगायत भाइरस र ब्याक्टेरियाका कारण हुने संक्रमणका बिरामीहरू ठूलो मात्रामा अस्पताल पुग्ने गर्दछन् ।

मौसम परिवर्तनको समयमा रुघाखोकी र ज्वरोको समस्या देखिन्छ । मौसमी ज्वरोलाई मेडिकल भाषामा ‘हे फिभर’ र ‘एलर्जिक रिनाइटिस’ पनि भनिन्छ । यो मौसमी एलर्जीका कारण देखिन्छ । रुघाखोकी, हाछ्युँ आइरहने, आँखाबाट आँसु आइरहने, पिनास र घाँटी दुख्ने यसका लक्षण हुन् । गर्मीयाममा धुवाँ, धूलो, घरपालुवा जनावरको फोहोर र प्रदूषणका कारण शरीरमा एलर्जी हुन्छ । र, त्यही एलर्जीले प्रतिरक्षा प्रणालीमा असर पार्दा घाँटी खसखस हुने, खोकी लाग्ने हुन्छ ।

घरबाहिर हिँडिरहनुपर्ने व्यक्तिमा मौसमी ज्वरोको सम्भावना हुन्छ । ६ महिनादेखि महामारीको रूप लिएको कोरोना भाइरस संक्रमण र मौसमी ज्वरोका लक्षण मिल्दाजुल्दा छन् । तर, मौसमी ज्वरो देखिँदैमा भाइरस संक्रमण शंका गरिहाल्नु नपर्ने विज्ञको सल्लाह छ । ज्वरो आएमा नआत्तिई स्वास्थ्य परीक्षण गराउन उनीहरूले सुझाव दिँदै आएका छन् ।

मौसमी ज्वरोबाट १० देखि ३० प्रतिशत वयष्क र करिब ४० प्रतिशत बालिबालिका प्रभावित हुन्छन् । ज्वरोका लक्षण बाहिरी वातावरणअनुसार फरक हुन्छन् । जस्तो– सुक्खा मौसममा बढी र वर्षातमा सामान्य लक्षण देखिन्छन् । शरीरमा देखिने एलर्जीले प्रतिरोधी क्षमतामा असर गर्छ । मौसमी ज्वरो जटिल हुँदै गएमा प्रतिरोधी क्षमता अझ कमजोर हुने भएकाले तत्काल उपचार गर्नुपर्छ । दम, एलर्जीजस्ता समस्याका कारण ज्वरो आउँछ । प्रदूषणयुक्त वातावरणमा बसेर काम गर्दा ‘एलर्जिक रिनाइटिस’ हुन्छ । कुकुर, बिरालोलगायत घरपालुवा जनावरको भुवाबाट निस्किने धूलो र धुम्रपान पनि एलर्जीका कारक हुन् ।

समयमै उपचार गर्दा एलर्जीका कारण हुने दमको समस्याबाट टाढा रहन सकिन्छ । नाक, कान र घाँटीमा संक्रमणबाट बचाउँछ । बारम्बार खोकी र हाछ्युँ आउँदा अनिद्राको समस्या पनि आउँछ । तर, सबै रुघाखोकी, ज्वरो, घाँटीमा समस्या, एलर्जीजस्ता समस्या कोभिड–१९ का लक्षण नहुने भएकाले नआत्तिई स्वास्थ्य परीक्षण गराउन चिकित्सकहरु बताउँछन् ।

यस्ता लक्षणको घरेलु उपचार पनि छ । तातो पानी पिइरहने, चिसोबाट बच्ने र आराम गर्नाले यस्ता समस्याबाट पार पाउन सकिन्छ । ज्वानोपानी, अदुवापानी, जिरापानी पिउँदा शरीरमा रोगप्रतिरोधी क्षमता बढ्छ । प्रशस्त पानी पिउँदा रक्तसञ्चार प्रणाली पनि राम्रो रहन्छ । पानी पिइरहँदा शरीरको बेकार तत्व पिसाबबाट बाहिरिन्छ र शरीर स्वस्थ राख्न मद्दत पुग्छ ।
– मुकेश मिश्र, कोटेश्वर, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्