२ सय ३८ दिनको भोक हड्तालबाट निधन



एजेन्सी
टर्कीका श्रमजीवी जनताको मुक्तिका निम्ति आवाज उठाउँदै आएकी कानुन व्यवसायी तथा मानवअधिकारकर्मी इब्रु तिम्तिकको २ सय ३८ दिनको भोक हड्तालबाट निधन भएको छ ।

उनलाई टर्कीको फासिवादी एकेपी सत्ताले सेप्टेम्बर २०१७ मा गिरफ्तार गरेको थियो । आफूलगायत गिरफ्तार साथीहरुको रिहाइ, जेलभित्र मानवीय व्यवहार गर्न र स्वच्छ र स्वतन्त्र न्यायालयका लागि माग राखेर उनले जेलभित्रै भोक हड्ताल शुरु गरेकी थिइन् ।

उनलाई उनको प्रोग्रेसिभ लयर्स एसोसियसनका आफ्ना १८ जना सहकर्मीसँगै गिरफ्तार गरिएको थियो । परिवर्तन, न्याय र समानताको पक्षमा आवाज उठाउने उनीहरुलाई टर्कीको सत्ताले प्रतिबन्धित पार्टी रेभ्युलुसनरी पिपुल्स लिबरेसन फ्रन्टको सदस्य भएको आरोप लगाउँदै आतंकवादी करार गरेको थियो ।

तिम्तिकलाई गत मार्चमा १३ वर्ष ६ महिनाको लामो कारावासको सजाय सुनाइएको थियो । कठोर कारावासमै तिम्तिकले जनवरी २ देखि स्वच्छ सुनुवाइ, स्वतन्त्र न्यायलय जस्ता न्यायपूर्ण मागहरु राखी भोक हड्ताल शुरु गरेकी थिइन् । लामो समयको भोक हड्तालका कारण उनको स्वास्थ्यमा गम्भीर समस्या पैदा भएपछि बन्दी अवस्थामा नै उनलाई जुलाई ३० मा अस्पताल भर्ना गरेको भए पनि आफ्ना माग पूरा नभएसम्म कुनै औषधि उपचार लिन तिम्तिकले इन्कार गरिन् ।

अन्ततः अगस्ट २७ मा २ सय ३८ दिन लामो भोक हड्तालसँगै उनले शाहदत प्राप्त गरिन् । अस्पतालमा उनलाई राखेको कोठा चिसो र अँध्यारो भएको र औषधि खुवाउन जबर्जस्ती गरेकाले उनको निधन भएको उनका समर्थकहरुले बताएका छन् ।

टर्कीमा तिम्तिकसहित राजनीतिक परिवर्तनका निम्ति भोकहडताल गर्दै यो वर्ष मात्रै टर्कीकी चर्चित जनगायिका हेलिन बेलेक लगायत चार जनाले शाहदत प्राप्त गरेका छन् । ४२ वर्षीया तिम्तिकको सहादत प्राप्त गर्दाको तौल जम्मा ६५ पौण्ड रहेको थियो । तिम्तिकका साथी तथा शुभचिन्तकले उनको शवको विरोध प्रदर्शनसहित अन्त्येष्टि गर्दै गर्दा टर्कीको पुलिसले टियर ग्यास समेत हानेको न्युज एजेन्सीहरुले उल्लेख गरेका छन् ।

टर्कीको एकेपी फासिवादी शासन व्यवस्था नै तिम्तिकको हत्यारा भएको भन्दै उनका समर्थकले विरोध प्रदर्शन गरिरहेका छन् । र, उनको निधनमा विश्वका कैयौं मुलुकका कम्युनिस्ट पार्टी तथा साम्राज्यवादविरोधी पार्टीहरुले उनको सहादतमा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्