कोरोनाबाट बच्न आफैँ अघि सर्नुपर्ने



 

 

लक्ष्मण अधिकारी,

 

‘काठमाडौमा किन भिडभाड बढ्यो भनेको त होमडेलिभरी गर्नेहरुले पो गर्या रैछ’ भन्दै गत हप्ता काठमाडौ प्रशासन कार्यालयले घरघरमा सामान पुर्याउने करिव १ सय जना कर्मचारी पक्राऊ गरी थुनेर सवैलाई आश्चर्यमा पारिदियो । कोभिड १९ महामारी भइरहेको बेला संसारभर सवैभन्दा सुरक्षित मानिएको इकमर्सलाई जिप्रका काठमाडौले बुझ्दै नबुझी जबर्जस्ती शक्ति प्रदर्शन गरेर रोक्दै जग हँसायो ।

करिव ३ घण्टा खुल्ने काठमाडौका पसलहरुमा पुरै अवधि असुरक्षित तरिकाले भिडभाड भइरहेको देख्दादेख्दै घरमै सामान पुर्याएर पाँच मिनेटमा फर्किने होमडेलिभरी सेवा तुलनात्मक रुपमा बढी सुरक्षित हो भन्ने कुराको हेक्का नराखी उनीहरुलाई हतोत्साही गरिनुले कोभिड महामारीको संवेदनशीलताई प्रशासन कार्यालयले आत्मसात् गर्न नसकेको सवैले महसुस गरे ।

नयाँ रोग भएपनि कोभिड नेपालमा भित्रिएको करिव ७ महिना भइसकेको छ, तर पनि के गर्न हुने के गर्न नहुने भन्ने कुरामा सम्बद्ध निकायदेखि आम सर्वसाधारण अझै अलमलमै परेको र यसले रोग संक्रमणको जोखिम बृद्धि गरिरहेको छ । जसले गर्दा दैनिक संक्रमित हुनेहरुको संख्या र मृत्यु हुने दर आकासिदै गएको छ भने अस्पतालबाट निको भएर फर्किनेहरुको संख्या घट्दै गएर सवैको सातो लिइरहेको छ । यसो हुनुको एउटा मुख्य कारण लामो अवधिको लकडाउन खुलेपछि हामीले कोभिड १९ बाट मुक्त भएको महसुस गर्दै पहिलेकै सामान्य र असुरक्षित गतिविधि गर्नु पनि हो । अव पनि हामीले आफ्नो बानी व्यहोरामा साच्चिकै परिवर्तन गरेनौँ भने के हामी यो रोगको चपेटाबाट मुक्त हुन सकौँला र ? 

करिव ३ महिना लामो लकडाउन पछि पनि मुलुकभरनै कोरोना संक्रमितको संख्या तीब्र गतिमा बढिरहेपछि स्थानीय प्रशासनले ठाउँहेरि लकडाउन गरिरहेको छ । तर पनि रोगको संक्रमण घटेको देखिएको छैन । काठमाडौ उपत्यकामा निषेधआज्ञा जारी गरेको एघारौँ दिन आइतबार सर्वाधिक ४२९ जना संक्रमित थपिएका छन भने मुलुकभर पनि २४ घण्टामा १२२१ जनामा संक्रमण देखिएर सर्वाधिक संख्या हुन पुगेको छ । यसरी भइरहेको बृद्धिले अहिले साधनश्रोतको कमी भई अस्पतालले धान्न नसकेर विरामीलाई घरमै आइसोलेसन बस्न सरकारले आग्रह गरिसकेको छ । काठमाडौ जस्तो सुविधा सम्पन्न ठाउँमा एक हप्तासम्म कन्ट्रयाक्ट ट्रेसिङ हुन नसकेको पाइएको छ भने राजधानी बाहिर कतिपय स्थानमा अस्पताल घुमाउँदा घुमाउँदै उपचारको अवसर नपाएर विरामीको मृत्यु भएका खबर पनि आइरहेका छन् । यस्तो अवस्थामा हामी आफैँले आफ्नो बानी व्यहोरा परिवर्तन गरेर रोगबाट बच्ने उपाय अबलम्बन गर्नु नै रोगबाट बच्ने उर्वोत्तम उपाय हो ।

अहिले धेरै प्रचार गरिएको र धेरैले बुझेको कुरा कोरोनाबाट बच्न मास्क लगाउने, भौतिक दूरी कायम गर्ने र बेलाबेलामा हात धुने वा स्यानिटाइजर लगाउने हो । साथै भौतिक दुरी कायम गर्न र संक्रमणको चेन तोड्न लकडाउन कार्यान्वयन । तर यतिले मात्र मानिसलाई कोरोनाबाट जोगान सक्ने देखिएन । त्यसैले विश्वका बैज्ञानिकहरुले अनुसन्धान गरी बानी व्यहोरा परिवर्तन सम्बन्धी विभिन्न थप सुझावहरु सिफारिस गरेका छन् । यसलाई नेपाली आम जनसमुदायमा पुर्याउन पुण्यार्जन फाउन्डेसनले विभिन्न प्रचार सामग्री तयार गरी विभिन्न माध्यमबाट वितरण गर्न थालेको छ ।

यस संस्थाका अध्यक्ष तथा बरिष्ठ दन्त चिकित्सक डा सुशील कोइराला भन्नु हुन्छ,‘कोरोनाको सङ्क्रमणमाथि विजय पाउने अस्त्र बन्दाबन्दी मात्र होइन भन्ने कुरा वैज्ञानिक अध्ययन र अन्य देशका अनुभवले पुष्टि गरिसकेको छ । हामीले पूर्ण सतर्कताका साथ विस्तारै शहरबजार, गाउँटोल, पेशा–व्यवसाय खोल्नैपर्छ । कोरोनाको औषधि र खोप बनिनसकेको र बने पनि हाम्रो पहुँचमा आइपुग्न कम्तिमा एक वर्ष लाग्नसक्ने परिस्थितिमा कोरोनाबाट जोगिने प्रमुख अस्त्र भनेको  आ–आफ्नो बानी–व्यवहार र कार्यशैली परिवर्तन नै हो । पश्चिमा देशले यसलाई ‘न्यू नर्मल’ भन्दै नयाँ बानी–व्यवहार अपनाउन अनुरोध गरेकाले त्यसैका आधारमा हामीले जनहितका लागि यस्ता सामग्री तयार गरी प्रचार गर्न शुरु गरेका हौँ । अवको आवश्यकता भनेको भोभिड १९ को जोखिम स्तर मनन गरी सामाजिक अनुशासन पालन गर्ने र दैनिक आफूले कस कसलाई भेटेँ भनेर सम्पर्क डायरी बनाउने नै हो ।’

हालसम्मका वैज्ञानिक अध्ययन, अनुसन्धान, विज्ञहरूको अनुभवका आधारमा कोरोनाको सङ्क्रमणका लागि मुख्यत चार वटा कारक तत्वलाई जिम्मेवार मान्ने गरिएको छ ।

क.कोठा, सेमिनार हल, सिनेमा हल, होटेल, पार्टी प्यालेस, रेष्टुरेण्ट, डान्सबार, शपिङ कम्प्लेक्स, खेल कभर्ड हल आदि जस्ता बन्द ठाउँ ।

ख. जनघनत्व र भौतिक दूरी कायम हुन नसक्ने भीडभाड र जमघटको अवस्था ।

ग.कति लामो अवधिसम्म कति नजिकको सम्पर्क गरिएको हो सो सम्पर्क अवधि र निकटता ।

घ.तीब्र स्वास प्रश्वास हुने हाच्छिउँ, चर्को बोली, होहल्ला, गायन र खोकीजस्ता गतिविधि ।

यी कारकसँग गाँसिएका क्रियाकलापको सम्भावित जोखिमलाई पाँच स्तरमा वर्गीकरण गरी विभिन्न रङ्गमा प्रस्तुत गरिएको छ । यी रङ्ग अनुसार आफू रहेको ठाउँ र आफूले गरिरहेका क्रियाकलापमा कोरोना जोखिमको स्तर आकलन गरी थप सतर्कता अपनाउन सकिन्छ ।

 

बायाँबाट क्रमश जोखिम बढदो क्रममा न्यून जोखिम, न्यून–मध्यम जोखिम, मध्यम जोखिम, उच्च–मध्यम जोखिम र उच्च जोखिम ।

१.न्युन जोखिमः एक्लै वा घर पालुवा जनावरसँग घर बाहिर टहल्नु, एक्लै अथवा आफ्नो परिवारसँग घरमा बस्नु, तयारी खानेकुरा वा किराना सामान राखिएको ठाउँबाट लिनु, एक्लै वा अरुसँग दौडनु वा साइकल चलाउनु न्युन जोखिमयुक्त हो । तर यसमा पनि निकट सम्पर्कमा रहनु, भिडभाड गर्नु, घर आँगनमा पारिवारिक जमघट गर्दा जोखिम बढ्छ ।

२.न्युनमध्यम जोखिमः खुला ठाउँमा पर्याप्त दुरीमा खेलिने गल्फ, टेनिस जस्ता खेल खेल्नु, खुद्रा किनमेल गर्नु न्युन मध्यम स्तरको जोखिम हो । यसमा पनि बन्द ठाउँ, निकट सम्पर्क, धेरैजनाको जमघट भएमा, धेरै सतहहरुमा छोइएमा जोखिमको स्तर बढ्दै जान्छ ।

३.मध्यम जोखिमः अस्पतालको आकस्मिक विभागमा जानु, बाहिरी रेष्टुराँमा खान जानु, ट्याक्सी भाडाका बाइक चढ्नु, प्रदर्शनी, मेडिकल क्लिनिक, डेन्टर क्लिनकमा जानु मध्यम स्तरको जोखिममा राखिएको छ । यसमा पनि क्लिनिकमा विरामीले मास्क नलगाएमा, बसाइको अवधि लामो भएमा, बन्द ठाउँ भएमा, सवारी साधनमा धेरै यात्रु भएमा र बसाइको निकटताले जोखिको स्तर बढाउँदै लान्छ ।

४.उच्च मध्यम जोखिमः व्यायामशालामा कसरत, व्युटी पार्लर तथा सैलुनमा जानु, कार्यालयमा काम गर्नु, भित्री रेस्टुराँ चिया पसलमा जानुलाई उच्च मध्यम स्तरको जोखिममा राखिएको छ । यसमा पनि बन्द ठाउँ, लामो समयसम्म निकट सम्पर्क, धेरैजनाको जमघट र उच्च स्वासप्रस्वास प्रक्रियामा व्यायाम गर्दा जोखिमको स्तर बढ्दै जान्छ ।

५.उच्च जोखिमः बार तथा रात्री क्लवहरुमा जानु, हवाइयात्रा गर्नु, बन्द स्थानको भोजभतेरमा जानु, सिनेमा हल, रंगमञ्च, सांगितिक कार्यक्रम, खेल, यात्रा मेला हेर्न जानु, धार्मिक  कार्यक्रममा जानु, फुटवल बास्केट बल कबड्डी आदि जस्ता आपसमा छोइने खेल खेल्नु, बस, माइक्रोवस आदि सार्वजनिक यातायातमा चढ्नुलाई उच्च जोखिमको स्तर मानिएको छ ।

यसमा पनि जाँडरक्सी आदिको सेवनका कारण अनियन्त्रित हुनु र धेरै व्यक्तिले एउटै  गिलास हुक्का प्रयोग गर्नु, उच्च स्वास प्रस्वास प्रक्रियामा कराउनु गाउनु चिच्याउनु जस्ता क्रियाकलापले जोखिमको स्तरलाई बढाउँदै लान्छ ।

यसरी जोखिमको स्तर हेरेर आफूलाई न्युन जोखिम स्तरमा मात्र सीमीत गर्न सके धेरै हदसम्म कोरोनाको जोखिमबाट बचाउन सकिन्छ । तर मास्क लगाएकै छ, बेलाबेलामा हात धोएकै छ भनेर मात्र कोरोनाको जोखिमबाट बच्न सकिन्न । राज्यले जोखिमबाट बचाउन चेतनामुलक सामग्री प्रसारण गरेर वा लकडाउन गरेका भरमा मात्र हामी सुरक्षित रहन सक्दैनौँ । रोगबाट बच्न तयार गरिएका सामग्री सुनेर हेरर मात्र पुग्दैन त्यसलाई मनन गरेर आफ्नो बानी व्यहोरामा पनि परिवर्तन गर्नुपर्छ । यदि यसो नगरेमा हाम्रा अस्पतालका बेडहरु, चिकित्सक एवं स्वास्थ्यकर्मीहरु र अन्य साधन स्रोतहरु हाम्रो उपचारका लागि अभाव हुने तथा सहजै उपलब्ध नहुने देखिसकिएको छ । त्यसैले कोरोनाबाट जोगिने हो भने आफूले आफैँलाई परिवर्तन गर्न अघि सरौँ ।

प्रतिक्रिया दिनुहोस्