सरकार गरिबविरोधी रहेको पाण्डेको आरोप


काठमाडौँ ।

नेपाली कम्युनिस्ट पार्टीका नेता राजेन्द्रप्रसाद पाण्डेले वर्तमान सरकार सुकुमबासी, गरिब र निमुखा वर्गको हितविपरीत काम गरिरहेको आरोप लगाएका छन्।

शनिबार काठमाडौँमा आयोजित अखिल नेपाल महिला सङ्गठन एकताको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले सरकार योजनाबद्ध षड्यन्त्रको परिणामस्वरूप बनेको दाबी गरे। उनले ‘जेनजी आन्दोलन’लाई विध्वंसकारी गतिविधिसँग जोड्दै त्यसको आडमा निर्वाचित संसद् विघटन गरी सिद्धान्त र लक्ष्यविहीन शक्तिलाई सत्तामा पुर्‍याइएको आरोप लगाए।

पाण्डेले कम्युनिस्ट शक्तिहरूलाई पुनः एकताबद्ध भएर सङ्घर्षमा जुट्न आह्वान गर्दै विगतका कमजोरीहरूको आत्मसमीक्षा गरी अझ सुदृढ पार्टी निर्माण गर्नुपर्ने बताए। साथै, पूर्वमाओवादी र पूर्वएकीकृत समाजवादी पृष्ठभूमिका कार्यकर्तालाई सङ्कुचित सोच त्यागेर साझा कम्युनिस्ट भावनाका साथ अघि बढ्न आग्रह गरे।