स्वास्थ्यमा समस्या देखिएपछि जापानी प्रधानमन्त्रीद्वारा राजीनामा दिने घोषणा



टोकियो ।

जापानका प्रधानमन्त्री सिन्जो आबेले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ ।

जापानको सरकारी प्रसारण संस्था एनएचकेले सम्प्रेषण गरेको समाचारमा उहाँले अस्वस्थताका कारण राजीनामा दिने मनस्थिति बनाउनु भएको बताइएको थियो ।

उहाँले आजै अपरान्ह पत्रकार सम्मेलन गरी आफूले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको हो । उहाँले आफु अस्वस्थ्य हुदा हुदै पदमा बसिरहनु उपयुक्त नहुने ठानेर राजीनामा दिन लागेका बताउनुभएको थियो ।

आफ्नो स्वास्थ्य समस्या देशको समस्या बन्न नहुने र देश विकासको गतिमा बाधक बन्न नहुने उहाँको भनाई छ । पार्टीले प्रधानमन्त्रीको अर्को उम्मेदवार नछान्दासम्म मात्र आफू पदमा बस्ने उहाँले बताउनुभयो ।

नयाँ प्रधानमन्त्री छान्ने विषयमा उहाँको डेमोक्र्याटिक पार्टीले अर्को हप्ता आवश्यक छलफल गरी निर्णय लिने बताइएको छ ।उहाँको कार्यकाल आगामी सन् २०२१ को सेप्टेम्बरसम्म भएपनि उहाँले अहिले नै राजीनामा दिन लाग्नु भएको समाचारमा जनाइएको छ ।

सन् २०१२ देखि लगातार शक्तिमा रहनु भएका आवे जापानमा सवैभन्दा लामो समय प्रधानमन्त्री हुनुभएका नेता हो । उहाँले यसअघि सन् २००७ मा पनि स्वास्थ्य समस्याकै कारणले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । तर पछि सुधार भएपछि फेरी निर्वाचित हुनुभएको थियो ।

पछिल्लो दुई हप्तामा उहाँ दुई पटक अस्पताल जानु भएको छ । उहाँ अर्को महिनादेखि ६६ बर्ष लाग्नुहुने भएको छ । उहाँलाई आन्द्रामा समस्या रहेको र पछिल्लो समयमा समस्या झन झन बढ्दै गइरहेको चिकित्सकहरुले बताएका छन् ।

कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न राम्रोसँग नसकेको भन्दै जापानमा सरकारको लोकप्रियता अहिले केही खस्किएको छ । लोकप्रियता खस्किएको र काम गर्न नसकेको कारणले भने राजीनामा दिन लागेको भनिएको छैन ।

जापानमा प्रधानमन्त्रीले राजीनामा दिएपछि कार्यबहाक प्रधानमन्त्री बनाइने कानुनी व्यवस्था रहेको छ । मन्त्रीपरिषद्मा उहाँपछिको दोस्रो बरियताक्रममा उपप्रधान तथा अर्थमन्त्री रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्