सूचना प्रविधिको पाठ



सूचना प्रविधिको विकासका कारण आज नागरिकले जान्नपाउने र अभिव्यक्ति दिनसक्ने अधिकारको सदुपयोग गर्ने अपूर्व अवसर पाएका छन् । विश्वको इतिहासमा यस प्रकारको अवसर यस रुपमा यसअघि कहिल्यै पाइएको थिएन । आमसञ्जारका माध्यमहरुको विकास मात्र होइन, सामाजिक सञ्जालमा आम नागरिकको पहुँचका कारण सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रताको उच्च प्रयोग भएको छ ।

तर, यदाकदा आधुनिक सूचना प्रविधिको दुरुपयोग पनि भएको छ, अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दा अरुलाई भ्रम छर्न पाइन्न, गलत सूचना सम्प्रेषण गर्नेहरु कारबाहीका भागिदार हुन्छन् । तर, बारम्बारजसो सामाजिक सञ्जाल र आमसञ्चारका माध्यममा पनि गलत सूचना सम्प्रेषण गर्ने काम भइरहेको छ । यो स्वयम्मा गम्भीर विषय हो ।

पछिल्लो पटक एक लोकप्रिय र अत्यन्त श्रद्धाले नाम लिइने व्यक्तिको खबर गलत किसिमले सार्वजनिक गरेर भ्रम छर्ने काम भयो । नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल सकिनै लाग्दा एकाएक उहाँको पक्षमा सामाजिक सञ्जालमार्फत जनमत उर्लिएसँगैै अनलाइन मिडियाहरुमा समेत समाचार आयो । बधाईको ओइरो लाग्यो ।

घिसिङको कार्यकाल सकिन लाग्दा आम जनताले सरकारलाई पुनः कार्यकालको अवधि थप्न माग गर्दै समाजिक सञ्जाल लगायतका माध्यमबाट आवाज उठाई रहेकै बेला मंगलबार साँझ कुलमान घिसिङकै सामाजिक सञ्जालमा उनैले मेरो म्याद थपियो भन्ने व्यहोरा लेखेको देखियो । घिसिङलाई एकाएक बधाइ र शुभकामना सन्देशको ओईरो लाग्यो । कुलमानको नामका नक्कली आइडी बनाएको अरुलाई जानकारी हुने कुरा पनि भएन । समाचार छापियो, भ्रमपूर्ण समाचार सबैतिर छायो । अन्ततः नेपाल सरकारका उर्जा मन्त्री वर्षमान पुनले बिद्युत

प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्तिका बारेमा कुनै निर्णय नभएको र मन्त्रिपरिषद् बैठक जारी भएपनि उक्त बिषयमा कुनै प्रस्ताव नै नभएको स्पष्ट पार्नुपर्ने अवस्था सिर्जना भयो । एकातिर राम्रो काम गर्ने व्यक्तिका पछाडि आम जनताको कति ठूलो शक्ति हुन्छ भन्ने एउटा सकारात्मक पक्ष देखियो तर सञ्चार प्रविधिको दुरुपयोग कतिसम्म हुँदोरहेछ भन्ने कुरा पनि यस घटनाले देखायो । नेपालमा जनहितका बिषयमा परिणाममुखी काम गर्ने व्यक्तिको जनताले कसरी मूल्यांकन गर्छन भन्ने कुराको यो टड्कारो उदाहरण हो र सरकारका लागि पनि ठूलो पाठ हो ।

नेपाली जनताले नेता, उद्योगी, व्यवसायी मात्र धनी हैन देश धनी भएको हेर्न चाहेका छन् । सरकारले व्यक्ति खुशी बनाउने नभै जनतालाई खुशी बनाएर काम लिन सक्नुनै बुद्धिमानी हुनेछ । कुलमान यो देशको लागि समयसापेक्ष व्यक्ति हुन् । यस्तै व्यक्ति शिक्षा, स्वास्थ्य, उद्योग, व्यवसाय, कल, कारखाना, व्यापारिक क्षेत्र, निजामती क्षेत्र, सुरक्षा निकाय हरेक क्षेत्रमा धेरै कुलमान जन्मिनु आवश्यक छ ।

सरकारले सही रुपमा पहिचान गरी जिम्मेवारी दिने हो भने यो नेपालको मुहार फेरिन धेरै समय लाग्ने थिएन । जसरी विद्युत प्राधिकरणमा कुलमानको प्रवेशले सही दिशानिर्देश गर्यो त्यसरीनै अन्य क्षेत्रको पनि विकास सम्भव छ । शक्ति र शासनमा रहेका व्यक्तिहरुले लोभ र पक्ष, विपक्षको विभेद हटाएर दक्षताको कदर गरोस्, शुभकामना !

प्रतिक्रिया दिनुहोस्