राजकुमारको मर्सडिजमा चराको गुँड, बच्चा नकोरलेसम्म चलाएनन्



दुबई, (एजेन्सी)
मध्यपूर्वी देशका शाही परिवार र राजकुमारहरूको विलासी जीवनशैली चर्चामा आउनु ठूलो कुरा होइन। तर, एउटा युवराजको हृदयमा देखिएको पन्छीमोहले विश्वकै ध्यान खिच्न सफल भएको छ। एउटा राजकुमार आफ्नो जीवनशैलीबाट अगाडि बढ्दै स–साना खुसीलाई कसरी महत्व दिन्छन् भन्ने कुरा यूएईका युवराज सेख हमदान बिन मोहम्मद बिन रासिद अल मकतुमले देखाएका छन्।

उनको यो अद्भूत कार्यलाई लिएर सामाजिक सञ्जालमा कैयौं दिनदेखि चर्चा भइरहेको छ। वास्तवमा उनको मर्सडिज सुव गाडीमा एक पन्छीले गुँड बनाएको थियो। युवराजले जब त्यो देखे, उनले त्यो गाडी प्रयोग गर्न छोडे। यति मात्र होइन, उनले गाडीलाई रातो टेपले बेरेर अरूलाई पनि उक्त चराको गुँडको ख्याल राख्न र त्यसलाई कुनै नोक्सान नपु¥याउन सचेत गराएका थिए। चराले गुँड बनाएपछि त्यसमा बच्चा कोरल्ने तयारी गरिरहेको थियो।

उक्त चराप्रतिको राजकुमारको प्रेम यतिमा मात्र रोकिएन। राजकुमारले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एक भिडियो पनि शेयर गरेका छन्। जसमा उक्त चराले गुँड बनाएदेखि अन्डा दिएको र त्यसबाट चल्ला निकाल्दासम्मको सुट गरिएको छ। भिडियोमा सबैभन्दा मायालाग्दो दृश्य भनेको जब आमाले आफ्ना बचेरालाई खाना खुवाइरहेको थियो, त्यो भिडियो शेयर गरेपछि क्याप्सनमा राजकुमारले लेखेका छन्– ‘कहिलेकाहीं साना कुराहरू जिन्दगीमा आवश्यकताभन्दा धेरै हुने गर्छ।’

प्रतिक्रिया दिनुहोस्