भारतले बंगलादेशलाई कोभिड–१९ खोप दिने



ढाका, (एजेन्सी)
भारतले बेलायतको अक्सफोर्ड विश्वविद्यालयको साझेदारीमा विकसित कोरोना खोप तयार पारेपछि प्राथमिकताका आधारमा बंगलादेशलाई उपलब्ध गराउने बताएको छ।
बंगलादेशको यात्रामा रहेका भारतका विदेश सचिव हर्षवर्धन श्रृंगलाले उक्त जानकारी दिएका हुन्। उक्त भ्रमणका क्रममा श्रृंगलाले ढाकामा आफ्ना समकक्षी मसुद बिन मोमेनसँग पनि भेटवार्ता गरेका छन्। दुवै देशका अधिकारीले कोभिड–१९ महामारीका बीच द्विवपक्षीय सम्बन्ध बढाउने विषयमा चर्चा गरेको बताइएको छ।
ढाका ट्रिब्युनका समाचारअनुसार श्रृंगलाले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग पनि भेट गरेका छन्। उक्त भेटका क्रममा दुवै पक्षबीच आपसी हितको सुरक्षासँग जोडिएका मुद्दा, कोरोना भाइरसको महामारीसँग लड्न आपसी सहयोग र महामारीपछिको अर्थव्यवस्था पुनर्वहाली गर्ने विषयमा चर्चा भएको बताइएको छ।
मसुदसँगको वार्तापछि श्रृंगलाले पत्रकारसँग आफ्नो यात्रा सन्तोषजनक रहेको र अत्यन्त छोटो भएको प्रतिक्रिया दिएका छन्। उनले भने– ‘बेलायतको अक्सफोर्ड विश्व विद्यालयसँगको साझेदारीमा विकसित भइरहेको कोभिड–१९ को खोप तयार भएपछि भारतले त्यसलाई प्राथमिकताका आधारमा बंगलादेशलाई उपलब्ध गराउनेछ।
पाकिस्तानलाई चीनले आफ्नो देशमा विकसित भइरहेको कोभिड–१९ को खोप उपलब्ध गराउने भएको छ। यस क्रममा चीनले आफ्नो तेस्रो चरणको खोप परीक्षणका लागि पाकिस्तानलाई नै चयन गरेको छ र पाकिस्तानको स्वीकृतिमा खोपको परीक्षण पनि भइरहेको छ। विश्वमा कोरोना भाइरस संक्रमणविरुद्ध विकसित भइरहेका खोपहरूमध्ये चिनियाँ सेनाको संलग्नतामा विकसित भइरहेको खोप सिनोभ्याक सबैभन्दा अगाडि मानिन्छ। चीनले आफ्नो खोप परीक्षणका रूपमा सेनालाई पनि लगाइसकेको छ।

प्रतिक्रिया दिनुहोस्