भारतमा एकैदिन झण्डै ७० हजार थप संक्रमित



नयाँ दिल्ली, (एजेन्सी)

भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या ७० हजारसम्म पुग्न लागेको छ । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६९ हजार ६ सय ५२ जना थप नयाँ संक्रमित भेटिएका छन् । योसँगै भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या २८ लाख भन्दा बढी नाघिसकेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले विहिवार जनाएको छ ।

पछिल्लो विवरण अनुसार भारतमा अहिलेसम्म २८ लाख ३६ हजार ९ सय २६ व्यक्ति संक्रमित भएका हुन् ।तीमध्ये ६ लाख ८६ हजार ३९५ जना अझै पनि संक्रमित अवस्थामै रहेको मन्त्रालयका अधिकारीहरुले बताएका छन् । यसैबिच भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेहरुको संख्या ५३ हजार ८ सय ६६ पुगिसकेको छ । ती मध्ये ९ सय ७७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

भारतमा कुल संक्रमितमध्ये हाल सम्म २० लाख ९६ हजार ६ सय ६५ जना संक्रमणमुक्त भएको बताइएको छ । यो संख्या सन्तोषजनक रहेको पनि सरकारी अधिकारीहरुको भनाई रहेको छ । प्रदेशहरुका तुलनामा भन्ने हो भने भारतमा सबैभन्दा धेरै महाराष्ट्र राज्य प्रभावित भएको देखिएको छ । त्यसपछि तमिलनाडु, कर्नाटक, दिल्ली लगायतका प्रदेशहरु बढी प्रभावित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्