बंगलादेशलाई भारतले कोरोनाको खोप दिने



ढाका (एजेन्सी)

भारतले बेलायतको अक्सफोर्ड विश्वविद्यालयको साझेदारीमा विकसित कोरोना खोप तयार भएपछि प्राथमिकताका आधारमा बंगलादेशलाई उपलब्ध गराउने बताएको छ । बंगलादेशको यात्रामा रहेका भारतका विदेश सचिव हर्षबर्धन श्रृंगलाले उक्त जानकारी दिएको हो । यस भ्रमणका क्रममा श्रृंगलाले ढाकामा आफ्ना समकक्ष मसुद बिन मोमेनसँग भेटवार्ता गरेका छन् ।

दुबै अधिकारीले कोविड १९ महामारीबीच द्विपक्षिय सम्बन्ध बढाउन विषयमा चर्चा गरेका थिए । ढाका ट्रिब्युनको समाचार अनुसार श्रृंगलाले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग पनि भेट गरेको छ । यस भेटका क्रममा दुबै पक्षबीच आपसी हितको सुरक्षासँग जोडिएका मुद्दा, कोरोना भाइरसको महामारीसँग लड्न आपसी सहयोग र महामारी पछि अर्थब्यवस्था पुनवहाली गर्ने विषयमा चर्चा गरेका थिए ।

मसुदसँगको वार्तापछि श्रृंगलाले पत्रकारसँग आफनो यात्रा सन्तोषजनक रहेको र अत्यन्त छोटो भएको प्रतिक्रिया दिए । उनले भने, बेलायतको अक्सफोर्ड विश्वविद्यालयसँगको साझेदारीमा विकसित भइरहेको कोविड १९ को खोप तयार भएपछि भारतले त्यसलाई प्राथमिकताका आधारमा बंगलादेशलाई उपलब्ध गराउने छ ।

पाकिस्तानलाई चीनले आफनो देशमा विकसित भइरहेको कोविड १९ को खोप उपलब्ध गराउने भएको छ । यस क्रममा चीनले आफनो तेस्रो चरणको खोप परीक्षणका लागि पाकिस्तानलाई नै चयन गरेको छ र पाकिस्तानको स्विकृतीमा खोपको परीक्षण पनि भइरहेको छ । विश्वमा कोरोना भाइरस संक्रमण विरुद्ध विकसित भइरहेका खोपहरु मध्य चीनको सेनाको संलग्नतामा विकसित भइरहेका खोप सीनोभ्याक सबैभन्दा अगाडी मानिन्छ । चीनले आफनो खोप परीक्षणका रुपमा सेनालाई पनि लगाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्