कोरोना परीक्षण बढाऊ



कोरोना संक्रमणको जोखिमबाट बच्न सरकारले अघोषित लकडाउनको नीति अख्तियार गरेपनि अहिलेसम्म पिसिआर परीक्षणको दायरालाई पर्याप्त मात्रामा बढाउन सकेको छैन।एकातिर कोरोना संक्रमणको जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउनुका साथै अर्कोतर्फ कोरोना परीक्षणको दायरा बढाउनुपर्ने टड्कारो आवश्यकता छ ।तर सरकार यस दिशामा अपेक्षित रुपमा अघि बढ्न सकिरहेको छैन। कोरोना संक्रमित हजारौं नाघिसक्दा पनि सरकारले परीक्षणको दायरा बढाउन आवश्यक तयारी गर्न नसक्नु भनेको वाञ्छनीय हुन सक्तैन।
झन्डै तीन महिनाको प्रत्यक्ष लकडाउनको परिस्थतिलाई समीक्षा गरेर सरकारले हाल लकडाउनको निर्णय गर्ने जिम्मा स्थानीय निकायलाई दिएको छ ।चैत्र ११ गते मंगलबारदेखि लागँ लकडाउन ५० औंं दिनपछि क्रमशः अप्रभावकारी हुँदै गएपछि सरकारले लकडाउन भन्ने शब्द उच्चारण नै नगरी व्यवहारतः लकडाउन गरिरहेको छ । यसअघि व्यवसायीहरुले स्वःस्र्फँत रुपमा पसल खोल्न थालेपछि सरकारले बाध्य भएर खोल्न परेको अवस्थालाई संश्लेषण गरेर अहिले अघोषित लकडाउन कायम गरिएको हो । अघोषित लकडाउनको नीति अपनाउँदा यस जस र अपजस संघीय सरकारले मात्र लिन नपर्ने, राहत वितरणसंगै जोडिएको असन्तुष्टि नआउने, सबै सरकारी निकाय, स्थानीय तहले कोरोना नियन्त्रण गर्न आ–आफ्नो हिसाबले जिम्मेवार हुनेगर्दछ । क्षेत्र हेरेर लकडाउन गर्न र जहाँजहाँ संक्रमण बढ्छ, त्यहाँ–त्यहाँ सिल गरेपनि सोहीअनुसार परीक्षणको दायरा बढाउन नसक्दा कोरोना संक्रमित अझ बढ्नसक्ने त्रास व्याप्त भएको छ ।कोरोना भाइरसबाट प्रभावित मुलुकहरूले परीक्षणको दायरा बढाउँदै लगिरहेका छन् । कतिपय मुलुकमा अहिले कोरोना फैलिने ग्राफ बिस्तारै झर्दै गएको देखिन्छ । तर, केही मुलुकमा संक्रमणको दर बढिरहेको छ । नेपालमा ६ साउनमा लकडाउन खुलेपछि पुनः संक्रमण दर बढ्दै गइरहेको देखाउँछ । लकडाउन खुल्नुअघि संक्रमण दर घटेको थियो, त्यसबारे सरकार र विज्ञका फरक–फरक धारणा देखिन्छन् । तर, अहिलेको विश्वव्यापी परिस्थिति हेर्दा कोरोनाको परीक्षण दर बढाएर संक्रमितको संख्या पत्तालगाउनु उपयुक्त हुन्छ । संक्रमितलाई आइसोलेसनमा राखेर संक्रमण फैलिनबाट रोक्नु नै कोरोना रोकथामको उत्तम उपाय ठहरिएको छ ।पिसिआर अर्थात पोलिमरेज चेन रियाक्सन परीक्षणबाट संक्रमणको मात्रा कति छ भन्ने देखिन्छ । तसर्थ संक्रमण रोक्नका लागि पिसिआर परीक्षणको दायरा बढाउनु उत्तम विकल्प हो ।
अघोषित लकडाउनमै पीसिआर परीक्षणको दायरालाई बढाउन सके कोरोना रोकथाम र नियन्त्रणमा सघाउ पुग्ने निश्चित छ । अहिले कोेरोनाको जोखिम समुदायमा फैलिइसकेको ठहर गर्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । संक्रमणको दर झन्–झन् बढै गएकोले परीक्षणको दायरालाई तीव्र गतिका साथ अघि बढाउन नसके अझ नेपाल क्रमशः इटलीको गन्तव्यतर्फ उन्मुख हुने जनस्वास्थ्य विज्ञहरुले चेतावनी दिइसकेको छन् । यस्तो बेला कोरोना संक्रमणबाट बच्न चेतनामँलक कार्यक्रमसंगै परीक्षणको दायरा बढाउन सकिएन भने परिस्थिति अझ भयावह हुँदै जाने निश्चित छ । उपचारका लागि खोपको व्यवस्था भइ नसकेको र औषधि पनि पत्ता नलागेको अवस्था त छंदैछ साथमा भएका अस्पतालले पनि उपचार गर्न असमर्थ भएको जानकारी गराउंदै हात उठाएको छ । यस बेला परीक्षण बढाउने जिम्मा सरकारको र अनुशासित भएर हिंड्ने कर्तव्य सरकारको देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्