प्रदेश ५ प्रहरीद्वारा प्रविधियुक्त अनुसन्धान र आर्थिक अनुशासनमा जोड



यमलाल भुसाल,बुटवल ।

५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङले प्रदेश मातहतका १७ वटा कार्यालयका प्रमुखहरुसंग कार्य सम्पादन सम्झौतामा हस्ताक्षर गरेको छ । ५ नं. प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायब महानिरीक्षक रबिन्द्र बहादुर धानुकले प्रहरी तालिम केन्द्र बुटवल, दंगा नियन्त्रण प्रहरी गण सुनवल, सशस्त्र प्रहरी गण खजुरा बाँके, प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवल १२ वटा जिल्लाका प्रहरी कार्यालय र नेपाल प्रहरी स्कूल घोराही दाङ सहित १७ वटा मातहत कार्यालयका कार्यालय प्रमुखहरुसंग कार्य सम्पादन सम्झौतामा हस्ताक्षर गर्नु भएको होे ।

प्रदेश प्रहरी प्रमुख धानुकले मातहत जिल्ला स्तरसम्मका कार्यालय प्रमुखहरूसंग आईतवार सम्पन्न भएको कार्य सम्पादन सम्झौता अनुरुप उल्लेखित लक्ष्य पुरा गर्न प्रभावकारी कार्यान्वयनका लागि स्पष्ट कार्य योजनाका साथ आफू र मातहत प्रहरी इकाई तथा कर्मचारीहरुलाई पूर्ण लगनशील र प्रतिवद्धताका साथ परिचालन गर्न निर्देशन दिनु भएको छ ।

उहाँले प्रदेशका नागरिकको शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन, अपराध नियन्त्रणका साथै अपराध अनुसन्धान तथा सवारी दुर्घटना न्यूनिकरणको लागि प्रविधियुक्त अनुसन्धान प्रणालीको विकास, आर्थिक अनुशासन र पारदर्शिता, मानव अधिकार संरक्षण र सामुदायीक केन्द्रीत प्रहरी कार्यहरुलाई मुख्य प्राथमिकता दिने निर्देशन दिनु भयो।

प्रहरी प्रमुख धानुकले प्राकृतिक रुपमा आईपर्ने विपद्को व्यवस्थापनको लागि उद्दार सामग्री सहित जनशक्तिलाई तयारी हालतमा राख्न समेत निर्देशन दिनुभयो । कोभिड १९ महामारीको समय रहेकोले सदैव अग्रपंक्तिमा रहने नेपाल प्रहरीले कर्तव्य पालनाको सिलसिलामा आवश्यक सावधानी र सुरक्षा अपनाउनको लागि मातहतका प्रहरी अधिकृतहरूलाई निर्देशन समेत दिनु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राज कुमार वैदवारले बताउनु भयोे ।

प्रतिक्रिया दिनुहोस्