आईसोलेसनमा उपचाररत संक्रमितको रिपोर्ट ‘नेगेटिभ’ आएसँगै म्याग्दी बन्यो कोरोना संक्रमणमुक्त जिल्ला



प्रताप बानियाँ, म्याग्दी ।

आईसोलेसन अस्पतालमा उपचार गराइरहेका एकजना कोरोना संक्रमितको पछिल्लो रिपोर्ट नेगेटिभ आएसँगै हिमाली जिल्ला म्याग्दी शुक्रबारदेखि सक्रिय कोरोना संक्रमणमुक्त भएको छ । भारतबाट आएर बेनीको क्वरेन्टीइनमा बसेको बेला कोरोना संक्रमण पुष्टि भएका बेनी नगरपालिका–४, सिङ्गाका २१ वर्षीय पुरुष निको भई आईसोलेसन अस्पतालबाट डिस्चार्ज भएपछि म्याग्दी कोरोना संक्रमणमुक्त जिल्ला बनेको हो ।

उनी रोजगारको सिलसिलामा केही समय पहिले भारत पुगेका थिए । यही साउन २४ गते संक्रमण पुष्टि भएका ती युवाको बिहीबार नेगेटिभ रिपोर्ट आएपछि उनलाई डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । हालसम्म म्याग्दीमा विदेशका विभिन्न देशहरुबाट फर्किएकाहरुमध्ये ४८ जनामा कोरोना संक्रमण पुष्टि भए पनि अहिले उनीहरु सबै निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।

आईसोलेसनमा रहेका एकजना संक्रमितको बिहीबारको रिपोर्ट नेगेटिभ आएपछि म्याग्दी जिल्ला सक्रिय कोरोना संक्रमणमुक्त भएको जनाइएको छ । समुदायस्तरबाट समेत सङ्कलन गरिएका थ्रेट स्वाबहरुको पनि रिपोर्ट नेगेटिभ आएको हुँदा अहिलेसम्म म्याग्दी पूर्णरुपमा सुरक्षित रहेको निमित्त स्वास्थ्य प्रमुख लम्सालले बताउनुभयो ।

म्याग्दीमा कोरोना संक्रमण पुष्टि भएका ४८ जनामध्ये पाँचजना महिला संक्रमित थिए । अहिले बेनीको क्वारेन्टाइनमा ४७ जना रहेका छन्भने उनीहरुको स्वाब लिन बाँकी छ । अब अर्को नतिजा नआउँदासम्म म्याग्दी सक्रिय कोरोना संक्रमणमुक्त वा बिरामी नभएको जिल्ला बनेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

आईसोलेसन अस्पतालमा उपचाररत २१ वर्षीय युवाको रिपोर्ट नेगेटिभ आएपछि उनलाई विदाई समेत गरिएको छ । ती युवालाई गण्डकी प्रदेश सभा सदस्य विनोद केसी र म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले खादा ओढाएका थिए । उनलाई विदाई गर्दै आईसोलेसनबाट डिस्चार्ज भए पनि घरमा गएर कम्तीमा एक हप्तासम्म होम क्वरेन्टीइनमै बस्न सुझाव दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्