प्राध्यापकद्वारा आगजनी, विद्यार्थीको विरोध



नरेन्द्र केसी, दाङ
आंशिक प्राध्यापकहरूले महेन्द्र बहुमुखी क्याम्पस दाङमा क्याम्पस प्रमुखको कार्यकक्षमा रहेका कुर्सी टेबल जलाएका छन् । दुईवटा टेवल, एउटा कुर्सी, विद्युतीय हाजिर मेसिन र क्याम्पस प्रमुखको नेम प्लेट उनीहरूले जलाएका हुन् ।

क्याम्पस प्रमुख दिवाकर शर्मालाई बाहिर निकालेर कार्यकक्षमा तालाबन्दी पनि गरिएको छ । उनीहरूले समान कामको समान ज्याला पाउनुपर्ने र बौद्धिक शोषण अन्त्य गर्नुपर्ने प्लेकार्डसहित नाराबाजी पनि गरेका थिए । नेपाल आंशिक प्राध्यापक संघले लामो समयदेखि आंशिकका रूपमा पढाइरहेकालाई करारमा नियुक्ति गर्नुपर्ने मागसहित आनदोलन गरिहेका छन् । दाङको महेन्द बहुमुखी क्याम्पसमा मात्रै ४२ जना आंशिक प्राध्यापक छन् ।

यसै बीच दाङका तीन विद्यार्थी संगठनले संयुक्त प्रेस विज्ञप्तिमार्फत महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा आंशिक प्राध्यापकहरूले गरेको आगजनी र तोडफोडको बिरोध गरेका छन् । राजनीतिक भाडबन्डाबाट आंशिक प्राध्यापकका रूपमा नियुक्ति पाएकाले अहिले यो व्यवहार प्रस्तुत गर्नु उपयुक्त नहुने आरोप पनि विज्ञप्तिमा लगाइएको छ ।

प्राज्ञिक व्यक्ति, अभिभावक र विद्यार्थीका आशा र भरोसाका पात्रहरूले नै आफ्ना माग पूरा गराउन यस्तो काम गर्नु लज्जास्पद भएको उनीहरुको आरोप छ । अनेरास्ववियु दाङका संयोजक जंग रोका, नेविसंघ दाङका कार्यवाहक सभापति टोबहादुर बुढाथोकी र अखिल क्रान्तिकारी दाङका अध्यक्ष अनिल केसीले जारी गरेको विज्ञप्तिमा आंशिक प्राध्यापकको आन्दोलनबारे जानकार रहेको जनाउँदै विश्वविद्यालयहरूमा अनावश्यक राजनीतिक भागबन्डा गरी आफ्ना निकटका व्यक्तिलाई टिके प्रथामार्फत नियुक्ति गरी भित्र्याउनु नै अहिलेको समस्याको मूल कारण रहेको उल्लेख छ ।

‘आगजनीको कार्यक्रम थिएन’
नेपाल आंशिक प्राध्यापक संघ महेन्द्र बहुमुखी क्याम्पस घोराही एकाइ समितिले विज्ञप्ति जारी गरी आइतबार क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाउने क्रममा आवेगात्मक परिस्थिति सिर्जना भएर प्रतिक्रियास्वरूप सामान्य आगजनीको घटना हुनु दुःखद भएको जनाएको छ । संघका अध्यक्ष बालकृष्ण डाँगीले जारी गरेको विज्ञप्तिमा समितिको कार्यक्रम त्यस्तो नभएको र नहुने पनि स्पष्ट गरेको छ ।

संघले सोमबार केन्द्रको कार्यक्रमअनुरूप लेखा र प्रशासन फाँटमा तालाबन्दी गर्दा प्रहरी पुगेर ताला फोडेको घटनाको पनि खेद प्रकट गरेको छ । यसबाट उत्पन्न परिस्थितिको उचित निकासका लाग पनि क्याम्पस प्रशासनको ध्यानाकर्षण गराइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्