काम नगर्नेलाई कोरोना बहाना ?



कोरोना भाइरसको त्रास आम नागरिकमा दिन–प्रतिदिन बढिरहेको छ । कोरोनाबाट नेपालमा २२ हजार ९ सयभन्दा बढी नागरिकहरु संक्रमित भइसकेका छन् । संक्रमित हुनेको संख्या दिनहुँ बढ्दै गइरहेको छ ।सरकारले चार महिना लकडाउन गरेर खुला गरेसँगै देशभित्र कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । लामो समय लकडाउन गर्दा देशको अर्थतन्त्र तहसनहस बनेको छ नै, नागरिकहरुको जनजीवन पनि कष्टकर बन्दै गएको छ । बिहान बेलुका काम गरेर जीविका चलाउँदै आएको श्रमिकहरुको अवस्था झन बेहाल बनेको छ । यस्तो बेला नागरिकहरु जीवनको जोखिम मोलेर काममा लागेका छन् भने सरकारी कार्यालय ‘सेवा बन्द’को सूचना टाँगेर आराम गर्नथालेका छन् ।

कोरोना रोकथाम र नियन्त्रणको लागि सरकारले विभिन्न मापदण्ड बनाएर लागू नगरेको पनि होइन । जनस्तरबाट लकडाउन खुला गर्न सरकारमाथि चौतर्फी दबाब परेपछि अन्ततः सरकारले यही श्रावण ७ गतेदेखि लकडाउन हटाएको थियो । लकडाउन खुला गरेसँगै काठमाडौं उपत्यकाबाट बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किएका छन् । सीमा नाकामा कडाइ र व्यवस्थित गर्न सकिएको छैन । उपत्यकामा मात्र होइन देशभर नै कोराना संक्रमित फैलिएको छ । पछिल्लो समयमा वीरगञ्ज लगायतका ठाउँमा त समुदाय स्तरमै कोरोना संक्रमण फैलिएको देखिएको छ ।

लकडाउनको अवधिमा नागरिकले आफूले पालना गर्नुपर्ने नियम माने पनि लकडाउन हटाइएको दुई साता नबित्दै पुनः सटडाउनतिर लाग्नुपर्ने अवस्था आउनु गम्भीर विषय हो । अर्कातिर कोरोना भाइरस सहज रुपमा नियन्त्रण नहुने विभिन्न अध्ययनले देखाइरहेका बेला हामीकहाँ भने सरकारी कार्यालयहरु कोरोनाको बहानामा जनताको कामबाट परसर्ने प्रवृत्ति बढेको छ । सरकारी कार्यालयमा बसेर काम गर्नुपर्ने कर्मचारी कोरोनाको बहानामा अफिस नजाने तर तासका खालमा भेटिने अवस्थालाई के भन्ने !

लकडाउन मात्र सधैंको समाधान होइन । विभिन्न देशले लकडाउनविना नै कोरोनाविरुद्ध लडिरहेका छन् र सफल भएका छन् । छिमेकी देश भारतमा कोरोना संक्रमितको संख्या थोरै भएको अवस्थामा सीमा नाका पूर्ण रुपमा सिल गर्न चुक्दा त्यसको ठूलो क्षति अहिले चुकाइरहेको छ । सीमा नाका पूर्ण रुपमा सिल गरेर अन्तर्राष्ट्रिय हवाई उडान मात्र रोक्न सकेको भए अहिले देशभित्र यति धेरै कोरोना संक्रमित हुने थिएनन् ।

रोग लाग्नुभन्दा रोग लाग्न नै नदिनु बेस, सरकारसँग पर्याप्त समयको सुविधा हुँदा पनि समयमा नै निर्णय लिन नसक्दाको परिणाम अहिले भयावह भएर आउँदैछ । स्वास्थ्य क्षेत्रमा रहेको सीमित स्रोत र साधनले कोरोना महामारीविरुद्ध सहजै रुपमा लड्नसक्ने अवस्था पनि छैन । सरकारको सम्पूर्ण ध्यान कोरोना नियन्त्रणतिरभन्दा पनि सत्ता बचाउन बढी ध्यान गएको कारणले पनि कतिपय तत्काल गर्नुपर्ने काम हुन सकेन ।

सरकारको मुखमात्र ताकेर होइन कोरोनाबाट बच्नको लागि नागरिकहरु पनि स्वयम् जिम्मेवार बन्नुपर्छ । नागरिकले कार्यालय नजाने तर तासका खालहरुमा भेटिने सरकारी कर्मचारीलाई सजग गराउनुपर्ने बेला आएको छ । सरकारी कार्यालयले पनि कोरोना देखाएर जनताको सेवाबाट भाग्नु नाजायज हो भन्ने सत्य आत्मसात् गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्