बन्दाबन्दीमा दुई खानेपानी आयोजना सम्पन्न



काठमाडौं, (नेस)
बन्दाबन्दीको समयमा पनि सुनकोसी गाउँपालिका–६ अमारेमा तुरतुरे खानेपानी आयोजना तथा न्यौपानेटारमा निगौली ओडारे खानेपानी आयोजना निर्माण कार्य सम्पन्न भएका छन् ।
ती खानेपानी आयोजनामार्फत् अमारे र न्यौपानेटारका घरहरुमा ५९ धारा निर्माण भई ४ सय २३ जना लाभान्वित भएका छन् । अमारेका ३९ घरमा धारा निर्माण भई १ सय ४५ पुरुष १ सय ३६ महिला गरि जम्मा २ सय ८१ जना र न्यौपानेटारका २० घरमा धारा निर्माण पश्चात ७२ पुरुष र ७० महिला गरि जम्मा १ सय ४२ जना प्रत्यक्षरुपमा सुरक्षित खानेपानीबाट लाभान्वित भएका हुन् ।
नेपाल रेडक्रसको आव्हानमा स्थानीय सुनकोशी गाउँपालिका र स्थानीय बासिन्दाको सहयोग र सहभागितमा यो सफलता भएको नेरेसोका सञ्चार निर्देशक दिव्यराज पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो ः रेडक्रसको ७० प्रतिशत र स्थानीय पालिका तथा बासिन्दाहरुको ३० प्रतिशत रकम लगानी भएको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघ र सुनकोशी गाउँपालिका सिन्धुलीको आर्थिक साझेदारीमा नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाको पहलमा निर्माण कार्य सम्पन्न भएको हो ।
तुरतुरे खानेपानी आयोजना निर्माण गर्न रेडक्रसको रु.२१ लाख ६० हजार ८ सय ९३ रुपैया र ७२ पैसा सुनकोशी गाउँपालिकाको रु ७ लाख ९५ हजार ५ सय ८ रुपौया १३ पैसा र समुदायको रु १ लाख २० हजार ४ सय ६८ रुपैया १६ पैसा गरि कुल रकम रु.३० लाख ७६ हजार ८ सय ७० रुपैया १ पैसा खर्च भएको नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाका बास अधिकृत जयनारायण चौधरीले जानकारी दिनुभयो ।
त्यसैगरि निगौली ओडारे खानेपानी आयोजनामा रेडक्रसको रकम रु १५ लाख ३५ हजार ५ सय ४० रुपैया ९४ पैसा, सुनकोशी गाउँपालिकाको रु ४ लाख ७७ हजार ८ सय ८रुपैया ३१पैसा र समुदायको रु. ८१ हजार १ सय ७७ रुपैया ७७ पैसा गरि कुल रकम रु. २० लाख ९४ हजार ५ सय २७ रुपैया ६२ पैसाको लागतमा खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न भएको हो ।
सुनकोशी गाउँपालिकामा ६ वटा यस्ता खानेपानी आयोजना सुरुभएकोे र ती सबै योजनाकोलागि गाउँपालिकाले सहयोग गरेकोमा धन्यवाद दिदै नेरेसो सिन्धुलीका सभापति अशोक श्रेष्ठले तेस्रो योजना एकहप्ता भित्र सम्मन्न गरिने र बाँकी ३ वटा आगामी २ महिनामा सम्पन्न हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो ः लकडाउन नभएको भए सबै योजना अहिलेसम्म पूरा भैसकेका हुनेथिए । सुख्खा क्षेत्रमा खानेपानी पुर्याउन सहयोग गर्न पाएकोमा हामी खुशी छौँ ।

प्रतिक्रिया दिनुहोस्