१० वर्षदेखि खोरमा थुनिएकाको उद्धार



रोशन पराजुली, हेटौंडा
मानसिकरूपमा कमजोर भएपछि करिब १० वर्षदेखि घरभन्दा टाढा खोरमा थुनेर राखिएका एक व्यक्तिको उद्धार गरिएको छ । हेटौंडामा केन्द्रीय कार्यालय रहेको मानव सेवा आश्रमले उनलाई आश्रमको प्रदेश–१ विराटनगर शाखामा राखेको छ ।
प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरे, प्रदेशसभा सदस्य कला घले, कटारी नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठ, उपप्रमुख भीमकुमारी राउत, मानव सेवा आश्रमका अभिभावकसहित उदयपुर जिल्लामा गएर उद्धार गरेर आश्रममा ल्याएको हो । उद्धार गरिएका १० मध्ये कटारी नगरपालिका–१ कालीखोलाका ५७ वर्षीय तर्कबहादुर अधिकारीमा सानैदेखि मानिसक समस्या देखिएको र १० वर्षदेखि खोरमा थुनिएको आश्रमले बताएको छ । उद्धारका लागि मानव सेवा आश्रम पुग्दा उनी घरबाट करिब २ सय ५० मिटर टाढा बाँसघारीमा रहेको खोरमा थुनिएको र नग्न अवस्थामा थिए ।
उद्धार गरिएकामध्ये ५ सन्तानकी आमा, सडकमा रहँदै गर्भवती भएकी किशोरी, परिवारका सदस्य देख्नेबित्तिकै आक्रमण गर्न थालेपछि साङ्लोले बाँधिएका र पढ्दापढ्दै स्कुल छाडेका युवा छन् ।
प्रदेशका सामाजिक विकासमन्त्री घिमिरेको पहलमा उद्धार गरिएकालाई चिकित्सकको परामर्शअनुसार आश्रममा चिकित्सक टिमले कोरोना परीक्षण गरेकोमा सबैको नतिजा नेगेटिभ आएको आश्रमले जनाएको छ ।
मानव सेवा आश्रमले हालसम्म प्रदेश–१ मा १ सय ८ जनाको उद्धार गरिसकेको छ । उद्धार गरिएकामध्ये ६५ जना आश्रममा छन् । अन्यलाई उपचारपछि परिवारको जिम्मा लगाइएको छ । सातै प्रदेशका १४ जिल्ला र १९ सेवा केन्द्रमा गरी १ हजारको उद्धार गरेर आश्रमको छानामुनि राखेर साहरा बनेर सेवा प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्