कार्यालय प्रमुख घूससहित अख्तियारको फन्दामा



यमलाल भुसाल, बुटवल

गुट्का व्यापारीसँग मासिकरूपमा घूस लिँदै गर्दा राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख तथा अनुसन्धान अधिकृत विजय रानालाई अख्तियारको टोलीले पक्राउ गरेको छ ।

राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख तथा अनुसन्धान अधिकृत रानाले गुट्का व्यापारी अनिलकुमार झासँग घूसबापत २ लाख रुपियाँ लिँदै गर्दा अख्तियारको टोलीले बुटवल उपमहानगरपालिका–१३ बुद्धचोकबाट मंगलबार पक्राउ गरेको हो ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख रानासहित घूस दिने गुट्का व्यापारी अनिलकुमार झालाई पनि पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा घूस लिने र दिने दुवैलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयका प्रमुख डा. भिष्मकुमार भुसालले जानकारी दिनुभयो । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान शुरू गरिएको पनि उहाँले बताउनुभयो ।

बाँके राष्ट्रिय निकुञ्ज प्रमुख र अधिकृत पनि फन्दामा
त्यसै गरी बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकाया स्रोत नखुलेको रकमसहित रूपन्देहीबाट पक्राउ परेका छन् । विशेष सुराकीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले उनीहरूबाट नगद ३ लाख ४८ हजार र ५ लाख ५० हजारको बैंकका भौचरसहित पक्राउ गरेको हो ।

अख्तियारको टोलीले उनीहरूलाई कार्यालयको बा२झ १८७३ को गाडीमा यात्रा गरिरहेको अवस्थामा सोमबार सैनामैना नगरपालिका–१० सालझण्डीबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता सुरेश भुसालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्