जिल्ला प्रशासन र प्रहरी कार्यालयमै भीडभाड



राम धामी, डडेल्धुरा

पछिल्ला दिनहरूमा कोरोना संक्रमण बढ्दै गए पनि डडेल्धुरा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा दिनहुँ सर्वसाधारणको भीडभाड लाग्न थालेको छ ।

बढ्दो कोरोना संक्रमण नियन्त्रणका लागि सरकार दोस्रोपटक लकडाउन थप्ने मनस्थितिमा पुगेको समयमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा भने दिनहँु भीडभाड बढ्न थालेको हो ।

कोरोना महामारी नियन्त्रणका लागि मुख्य सरोकारवाला मानिएका दुवै कार्यालयमा सामान्यरूपमा पनि सामाजिक र भौतिक दूरीको पालना गरिएको पाइएको छैन भने सावधानी बढाउन दुवै कार्यालयले कुनै पहल गरेका छैनन् ।

कार्यालयले सेवाग्राहीलाई सामाजिक दूरी कायम गरी नराख्दा सेवा लिने ठाउँमा अनावश्यक भीडभाड हुने गरेको र सेवा प्रवाह गर्न पनि समस्या भइरहेको जिल्ला प्रशासन कार्यालयमा कार्यरत एक कर्मचारीले बताए ।

मंगलबार जिल्ला प्रशासन कार्यालय डडेल्धुरा पुग्दा कार्यालयको हाताभरि सेवाग्रहीको भीडभाड देखिन्थ्योे । कोही सेवाग्राही नागरिकता फाँटको झ्यालमा कोचाकोच हुने गरी उभिएका थिए त कोही मूल ढोकासम्म भुइँमै बसेका देखिन्थे तर सामाजिक दूरी भन्ने कतै देखिएको थिएन ।

पछिल्ला केही दिनयता जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा समेत सर्वसधारणहरुको भीड लाग्ने गरेको छ ।


‘पछिल्ला चार÷पाँच दिनदेखि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा दिनहुँजसो सेवाग्राहीको यस्तै भीडभाड रहेको छ । सामाजिक दूरी कायम गरी सेवा प्रवाह गराउनतर्फ प्रशासनले कुनै चासो देखाएको छ्रैन’, स्थानीय मदनसिंह भाटले भन्नुभयो– ‘जिल्ला प्रशासनमा सेवाग्राहीको भीडभाड नियन्त्रण हुन सकेको छैन भने जिल्ला प्रहरी कार्यालयमा पनि विभिन्न मुद्दाको छलफल गर्न दिनहुँ सयौं मानिस जम्मा हुने गरेका छन् ।’

कोरोना नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले सेवाग्राहीका लागी न्यूनतम मापदण्ड पनि पूरा गरेको पाइएको छैन । कार्यालयमा सेवा लिन आउने व्यक्तिहरूलाई सेनिटाइजर प्रयोग गर्न लगाउने, मास्क अनिवार्य लगाउनुपर्ने र सेवा लिँदा सामाजिक दूरी कायम गराउने कुनै पनि संकेत देखिएको छैन ।

एसएलसीको नतिजा आउनेवित्तिक्कै सेवाग्राहीको भीड अझै बढ्न सक्ने स्थानीय अगुवाहरू बताउँछन् । बिहान १० बजे नागरिकता बनाउनका लागि जिल्ला प्रशासन कार्यालय पुगेका भागेश्वर गाउँपालिका–३ बोकटाका सञ्जय रानाले भीडभाडका कारण बेलुकी मात्रै नागरिकता प्रमाण पत्र पाएको बताए ।

जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा सेवाग्राहीका लागि बस्नका लागी बनाएका बेञ्चमा बस्ने ठाउँ नपाएपछि आठ महिनाको दुधेबालक समातेर मूल गेटको भुइँमा बसेका रानाले भन्नुभयो– ‘कारोनाको डर भए पनि नागरिकता बनाउनै प¥यो ।’

अधिकांश व्यक्ति नयाँ नागरिकता र नागरिकताका प्रतिलिपि लिनका लागि जिल्ला प्रशासन कार्यालयमा आउने गरेका छन् । बजारमा मास्क प्रयोग नगर्ने व्यक्तिलाई प्रहरीले कारबाही गर्दै राजस्व संकलन गरिरहेको छ तर जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालयभित्रको भीडभाडमा कयौं व्यक्ति मास्क प्रयोग नगरी बसेको पाइएको छ । सेवा प्रवाह गर्ने कर्मचारी पनि बिनामास्क सेवा दिइरहेकाले थप जोखिम बढ्ने आशंका थपिएको स्थानीय बताउँछन् ।

सामाजिक दूरी कायम नगराउने र नगर्नेलाई जिल्ला प्रशासन कार्यालयले संक्रमण रोग ऐन २०२० बमोजिम कारबाही गर्ने सूचना जारी गरेको छ । तर आफैंले उक्त सूचनाको बर्खिलाप गरेको स्थानीय समाजसेवी जयराज पनेरु बताउनुहुन्छ ।

भीडभाड बढ्दै गएकाले कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा जिल्लास्तरीय कोरोना नियन्त्रण समितिको बैठक बसिरहेको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराले भने प्रहरीकहाँ मुद्दा पुग्ने बित्तिक्कै दलबलका साथ कार्यालयमा पुग्ने प्रवृत्तिका कारण भीडभाड बढेको भए पनि गेटभित्र भीड हुन नदिन आवश्यक मानिसलाई मात्रै भित्र जान दिने गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्