आत्महत्या गर्नेको संख्या बढ्दै



डडेल्धुरा, (नेस)
डडेल्धुरामा आत्महत्या गर्नेको संख्या वर्षेनी बढ्दै गएकोे छ । गत आर्थिक वर्ष अर्थात् २०७४ को साउनदेखि २०७७ को हालसम्मको तथ्यांक हेर्दा डडेल्धुरामा ७१ जनाले आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका तथ्यांकमा झुन्डिएर आत्महत्या गर्नेको संख्या ५० जना रहेको छ भने विष सेवन गरी आत्महत्या गर्नेको संख्या २१ जना रहेको छ । गत आर्थिक वर्ष २०७४÷७५ मा १० जना, ०७५÷७६ मा २३ जना, ०७६÷७७ मा १४ जना र ०७६÷७७ मा तीन जनाले झुन्डिएर आत्महत्या गरेको छन् भने विष सेवन गरेर गत आर्थिक वर्ष २०७४÷७५ मा सात जना, ०७५÷७६ मा आठ जना र ०७६÷७७ मा छ जनाले आत्महत्या गरेका प्रहरीको तथ्यांकमा उल्लेख गरिएको छ ।
गत आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका कुल मुद्दा ९२ रहेका छन् । यसमध्ये सबैभन्दा बढी आत्महत्याका मामिला भएको डडेल्धुराका प्रहरी प्रमुख डीएसपी दधिराम न्यौपानेले जानकारी दिनुभयो ।
डीएसपी न्यौपानेका अनुसार यसले एकातिर अपराध बढ्दै गएको देखिन्छ भने अर्कातर्फ प्रहरीको सक्रियता बढेसँगै मुद्दाको संख्यामा वृद्धि भएको हुन सक्ने अनुमान छ । कोरोना महामारीका बेला जारी लकडाउनको समयमा डडेल्धुरामा सबैभन्दा बढी आत्महत्या भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयमा आर्थिक वर्ष २०७३÷७४ मा ५० वटा, २०७४÷७५ मा ५१, वटा ०७५÷७६ मा ८० वटा र ०७६÷७७ मा ९२ मुद्दा दर्ता भएको डीएसपी न्यौपानेले जानकारी दिनुभयो । आत्महत्या तथा महिला हिंसाविरुद्धका घटना न्यूनीकरणका लागि प्रहरीले जिल्लाका विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्