त्रिविको ताला खोलियो



काठमाडौं, (नेस)
उच्च अदालत पाटनले त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र सेवा आयोगको कार्यकक्षमा लगाएको ताला खोल्ने अन्तरिम आदेश दिएको भोलिपल्ट सोमबार ताला खोलिएको छ । फाइल बढुवामा परेका दुई कर्मचारीले दिएको रिटमा उच्च अदालतले ताला खोल्ने आदेश दिएको थियो ।
फाइल बढुवा भएर अवकाश हुन लागेका महेश्वरमान श्रेष्ठले त्रिवि कार्यकारी र प्रताजन्त्रवादी प्राध्यापक संघविरुद्ध रिट दायर गराउनुभएको थियो । उक्त रिटको सुनुवाइ गर्दै ताला खोल्न अन्तरिम आदेश दिएको थियो ।
त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले कार्यकारी परिषद्ले निर्णय नगर्दा बढुवासमेत खोसिने भएपछि कर्मचारीले दायर गरेको रिटमा उच्च अदालतले ताला खोल्न आन्तरिम आदेश दिएको र सोलगत्तै सोमबार दिउँसो ताला खोलिएको जानकारी दिनुभयो ।
कर्मचारीको संवेदनशीलतालाई बुझेर निर्णय गरेपछि सोको आधारमा ताला खोलिएको उपकुलपति बास्कोटाले जानकारी दिनुभयो । श्रेष्ठसहित दुईजना कर्मचारीले रिट दायर गराउनुभएको थियो ।
ताला खोलेलगत्तै सोमबारबाटै नियमित कार्यालय सञ्चालन गरिएको त्रिविले जनाएको छ । लगातार दुई सातादेखिको तालाबन्दीले त्रिवि कार्यकारी परिषद्, सेवा आयोग, उपकुलपति, रजिस्ट्रार रेक्टरको कार्यालयबाट सम्पादन हुने सबै काम ठप्प थियो । आज बुधबारबाट नियमित काम शुरु हुने त्रिविले जनाएको छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्