पाल्पाका आइसोलेसन पूरै खाली



कविराज नेपाल, पाल्पा
पछिल्लो समय देशभर कोरोना संक्रमणको सन्त्रास फैलिइरहेका बेला पाल्पामा भने कोरोनाको त्रास क्रमशः कम हँुदै गएको पाइएको छ । एकातर्फ जिल्लामा कोरोना संक्रमित भएका सबै निको भएर घर फर्किसकेका छन भने समुदायमा गरिएको नमुना परीक्षणमा पनि सवैको नेगेटिभ परिणाम आएको छ ।

यससँगै कुनै समय पाँच नम्वर प्रदेशमै सबैभन्दा धेरै कोरोना संक्रमित रहेकोमा संक्रमितहरु निको भएर घर फर्किसकेकाले तथा जिल्लामा रहेका क्वारेन्टाइन रित्तिएको, समुदायमा कोरोना फैलिएको पुष्टि नभएको तथा यसको रोकथामका लागि प्रशासनको तर्फबाट पनि कडा निर्देशन र सुरक्षात्मक उपाय पालनामा पनि कडाइ गर्न थालिएपछि कोरोना सन्त्रासलाई आमसमुदायले सहज रुपमा लिन थालेको पाइएको हो ।

पाल्पाका विभिन्न क्षेत्रमा क्रियाशील १ सय १८ जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा सवैको परिणाम नेगेटिभ आएको हो । लकडाउनका समयमा फ्रन्टलाइनमा खटेका पत्रकार, व्यापारी, बैंकका कर्मचारी तथा सरकारी कर्मचारीको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले सबैको रिपोर्ट नेगेटिभ आएको र ५ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । तीमध्ये ५ सय ६० जना निको भएर घरमा फर्किसकेका छन् भने पूर्वखोलाका एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो । उनलाई कोरोना पोजेटिभ भेटिएको थियो ।

त्यस्तै जिल्ला प्रशासन कार्यालयले मास्क लगाउन, सामाजिक दूरी कायम राख्न र भीडभाड नगर्न र विद्यालयमा कक्षा सञ्चालन गर्न र जात्रा पर्वजस्ता उत्सव नगर्न कडा निर्देशन दिइसकेको छ । यसलाई कार्यान्वयन गर्देै जिल्ला प्रहरी कार्यालय पाल्पाले धमाधम मास्क नलगाउनेहरुलाई कारबाही गर्न थालेपछि मानिसहरु घरबाहिर निस्कदा र भिडभाडमा जाँदा अनिवार्य रुपमा मास्क लगाउन थालेका छन ।

पछिल्लो समय कोरोना संक्रमितहरु नदेखिए पनि सजगता अपनाउन जरुरी देखिएको छ भने पीसीआर मेसिन पाल्पामा आइसकेकाले छिटोभन्दा छिटो यसलाई सञ्चालन गरी शंकास्पदहरुको परीक्षणको दायरा वढाई थप सजगता अपनाउनु पर्ने खाँचो रहेको बताइएको छ ।

खासगरी वाहिरबाट आउने व्यक्तिको कडा निगरानी परीक्षण, होम क्वारेन्टाइनको पनि पूर्ण पालना जरुरी देखिएको छ । यहाका विद्यालय, र सामुदायिक स्थालहरुमा राखिएका क्वारेन्टाइन र आइसोलेसन खाली भइसकेकाले अब तुरुन्त त्यसको निर्मलीकरण गर्न र थप सजगता अपनाई कोरोना जिल्लाभित्रै छिर्न नदिने वातावरण मिलाउन पनि जरुरी छ । कुनै पनि कुरामा हतार गर्नुभन्दा पनि जोखिमबाट बच्ने उपाय अपनाउन जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्