दलित र गैरदलितको सामूहिक रक्षाबन्धन



नेपाल समाचारपत्र, गुल्मी

गुल्मीमा पहिलोपटक दलित र गैरदलितले सामूहिकरूपमा रक्षाबन्धन बाँधेका छन् । विश्व हिन्दू महासंघ तथा दलित साझा मञ्च गुल्मीको आयोजनामा हिन्दू धर्मको संरक्षण र सामाजिक सद्भावका लागि जिल्ला सदरमुकाम तम्घासमा सामूहिक रक्षाबन्धन कार्यक्रम भएको हो ।

जनैपूर्णिमा रक्षाबन्धनको अवसरमा सबै जातजाति, समुदायबीच सामाजिक सद्भावका लागि सामूहिक रक्षाबन्धनको आयोजना गरिएको दलित साझा मञ्च गुल्मीका अध्यक्ष गणेश विश्वकर्माले बताउनुभयो ।

सामाजिक त्रुटिका रूपमा रहेको जातीय विभेदको अन्त्यका लागि सामूहिक रक्षाबन्धनको आयोजना गरिएको विश्व हिन्दू महासंघ गुल्मीका अध्यक्ष सुरेशचन्द्र भुसालको कथन छ ।

पण्डित भीमकान्त पन्थीले सर्वप्रथम रेसुङ्गा नगरपालिका निवासी ८३ वर्षकी जानकी विश्वकर्मा, ८० वर्षीय सूर्यबहादुर नेपाली र ७० वर्षीय दधिराम परियारलाई डोरो बाँधेर कार्यक्रम शुरुआत गर्नुभएको थियो । कार्यक्रममा पण्डित पन्थीले सामूहिकरूपमा बाँधिएको डोरोले सबै जातिलाई एकै ठाउँमा बाँध्ने काम गरेको बताउनुभयो ।

कार्यक्रमले दलित र गैरदलित बीच भएको दूरी र विकृति–विसंगतिलाई अत्य गरेको सहभागीहरूले धारणा राखेका थिए । कार्यक्रममा प्रदेश नम्बर–५ का सांसद कमलराज श्रेष्ठ, जिल्लास्थित राजनीतिक दलका प्रमुख, प्रमुख जिल्ला अधिकारीसहित सरकारी तथा गैरसरकारी निकायका प्रमुखहरूको सहभागित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्