मनपरी भाडा असुल्दै जिप चालक



विमल विष्ट, डोटी
सरकारले कुल सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु बोक्ने गरी सवारीसाधन सञ्चालन गर्न अनुमति दिए पनि डोटी जिल्लामा सञ्चालन हुने जिपहरूले क्षमताभन्दा दोब्बर यात्रु ओसार्न थालेका छन् । जसले गर्दा सार्वजनिक यातायातका साधनमा जोखिम पनि बढ्दै गएको छ ।
दिपायलदेखि डडेल्धुरासम्म जम्मा ६५ किलोमिटर दूरीमा यहाँका जिप चालकले ५ सय रुपियाँसम्म भाडा लिन थालेको दिपायल पिपल्लाका स्थानीयबासी दिनेश कुँवर बताउनुहुन्छ । ‘लकडाउनअघि १ रुपियाँ भाडा भएको ठाउँमा अहिले ५ सय रुपियाँसम्म लिन थालेका छन्, उनीहरूले ताकेको भाडा नदिए चालकले लैजान मान्दैनन् ।’ –उहाँले भन्नुभयो ।
यतिमात्र नभई दिपायलदेखि गोपघाटसम्म जम्मा २० किलोमिटरको दूरीमा जिप चालकले २ सय रुपियाँ भाडा लिने गरेको अर्का स्थानीय पुर्ण दाशले गुनासो गर्नु भयो । ‘जिप चालकले २० किमिको २ सय रुपियाँ लिन थालेका छन्, भाडा बढी लियो भनेर प्रहरीलाई भन्दा टिकट ल्याऊ, निवेदन देऊ भन्छन्, हामीलाई जिप चालकले टिकट नै दिँदैनन् कहाँबाट ल्याएर दिने ।’ – उहाँले भन्नुभयो । त्यसै गरी दिपायल–सिलगढी ११ किलोमिटरको भाडा लकडाउनअघि रु ४५ रुपियाँ कायम रहेकोमा हाल जिप चालकले १ सय रुपियाँ बनाउँदासम्म यहाँको स्थानीय प्रहरी प्रशासनले कुनै चासो नदेखाएको स्थानीयबासीको आरोप छ ।
‘गाडी चालकले कोरोना संक्रमणबाट बच्ने कुनै उपाय प्रयोग गरेको देखिँदैन, सिटभन्दा बढी यात्रु बोकेर हिँड्ने गरेका कारण कोरोना फैलिने डर निकै बढेको छ ।’ –दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका स्थानीयबासी जगतबहादुर बलायरले बताउनुभयो ।
‘जिप चालकले यात्रुबाट बढी भाडा लियो भन्ने गुनासो आएपछि हामीले छड्के अनुगमन गर्न थालेका छौं, तोकिएको भन्दा बढी भाडा लिनेलाई अन द स्पोर्ट कारबाही गर्न निर्देशन दिएको छु ।’ –डोटीका प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले भन्नुभयो ।
त्यसै गरी लकडाउन खुलेपछि सार्वजनिक यातायात र सार्वजनिक स्थानहरूमा भीडभाड बढेकाले नियन्त्रण गर्नुपर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई नेपाल पत्रकार महासंघ डोटी शाखाले ध्यानाकर्षणपत्र बुझाएको छ ।
ध्यानाकर्षण पत्रमा सार्वजनिक स्थानमा भइरहेको भौतिक दूरी बिनाको भीडभाड रोक्नका लागि आवश्यक कदम चाल्नुपर्ने, सवारी साधनहरूमा सिट क्षमताको ५० प्रतिशतमात्रै यात्रु बोक्न पाउने गरी सरकारले गरेको व्यवस्था कडाइका साथ लागू गर्नुपर्ने, भाडा दर नियन्त्रण गर्नुपर्ने, यातायातका साधनको पर्याप्त व्यवस्था गर्नुपर्ने, गाडी चालक, सहचालक र यात्रुले कोरोनाबाट बच्ने सुरक्षाका उपायहरू मास्क, सेनिटाइजर, पन्जाको प्रयोग गर्नुपर्ने साथै एकपटक यात्रु ओसारीसकेपछि गाडीको अनिवार्यरूपमा निर्मलीकरण गर्नुपर्ने र कोरोनाको जोखिम न्यूनीकरणका लागि जिल्ला संकट व्यवस्थापन केन्द्रले प्रभावकारीरूपमा अनुगमन गर्नुपर्ने माग राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्