कृषि सामग्री कम्पनीका प्रमुखले बुझाए १० लाख धरौटी



सञ्जय कार्की, रौतहट
कालोबजारीको मुद्दा खेपेका कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रपुरका प्रमुख रवि केशरीले आइतबार १० लाख धरौटी बुझाएका छन्। जिल्ला प्रशासन कार्यालय रौतहटले मागेको धरौटी रकम बुझाएर उनले मुद्दाको पुर्पक्ष गर्ने भएका छन्।
नेपाल सरकारको अनुदानको मल सहकारी संस्थामार्फत कालोबजारी गर्न सघाउ पुड्डयाएको आरोपमा कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख केशरीमाथि समेत मुद्दा चलेको थियो। पक्राउ पुर्जी जारी भएसँगै फरार रहेका उनी आइतबार जिल्ला प्रशासन कार्यालय रौतहटमा उपस्थित भएर बयान दिएपछि प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले १० लाख धरौटी रकम माग गर्नुभएको हो।
सार्वजनिक पद धारण गरेका व्यक्तिमाथि कालोबजारी तथा सामाजिक अपराधको मुद्दा लागेपछि उसमाथि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान हुनुपर्ने आवाज उठ्दै आएको छ। कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रनिगाहपुरबाट रौतहटका बचत तथा ऋण र कृषि सहकारी संस्था गरी १ सय ३२ वटा सहकारी संस्थाले ठूलो परिणाममा नेपाल सरकारको अनुदानको मल खरिद गरेको तथ्यांकमा रहेको छ तर जहिले पनि धानखेतीको मुख्य सिजनमा मलको अभाव देखाएर कालोबजारी हुने गरेको देखिन्छ।
गत असार १५ गते इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले मलखाद कालोबजारी गरेको आरोपमा कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रपुरका प्रमुख केशरीसहित तीनवटा सहकारी संस्थाका गरी २५ जनामाथि जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला प्रशासन कार्यालय रौतहटमा मुद्दा दर्ता गरेको थियो। उनीमाथि जिल्ला प्रशासन कार्यालय रौतहटले ३० लाख धरौटी रकम माग गरेको हो।
नेपाल सरकारको अनुदानको मल कृषि सामग्री कम्पनी लिमिटेडबाट रौतहटको १ सय ३२ वटा सहकारी संस्थाले खरिद गरेपछि ती सबै सहकारी संस्थाको मलमा कालोबजारी भए या नभएको अनुसन्धान हुनुपर्ने माग उठेको हो। प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले नेपाल सरकारको अनुदानको मल सहकारी संस्थामार्फत दुरुपयोग हुन नदिन आफू्र लागिपरेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्