रेडक्रस तदर्थ समितिको पदबहाली



काठमाडौं, (नेस)
नेपाल रेडक्रस सोसाइटीको नवगठित तदर्थ समितिका पदाधिकारीले आइतबार पदभार ग्रहण गर्नुभएको छ।
मुलुक बाढीपहिरोले आक्रान्त भइरहेको समयमा रेडक्रसको अन्तर्राष्टिझय महासंघको विपद् प्रतिकार्य आपत्कालीन कोषबाट सहयोग लिने तयारीका सन्दर्भमा नवनियुक्त अध्यक्ष, कोषाध्यक्ष र महामन्त्रीले क्रमशः टिप्पणीमा दस्तखत गरी पदभार शुरु गर्नु भएको हो।

पदभार ग्रहणपश्चात् अध्यक्ष डाक्टर नेत्र तिम्सिनाले जनता, सरकार र साझेदारलाई रेडक्रसको अहिलेको स्थितिका बारेमा स्पष्ट जानकारी गराउन आगामी हप्ता श्वेतपत्र जारी गर्ने बताउनुभयो।

साउन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल रेडक्रस सोसाइटीको तत्कालीन कार्यसमिति विघटन गरी संस्थाको साधारण सदस्यमध्येबाट डाक्टर नेत्र तिम्सिनाको अध्यक्षतामा ३३ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो।

सोही अवसरमा तदर्थ समितिका महामन्त्री पीताम्बर अर्यालले नेपाल रेडक्रसलाई थप उचाइमा लैजाने, निर्वाचन जतिसक्दो छिटो गर्ने र कानुनी अवस्था सुधार गर्ने नै समितिको प्राथमिकता रहेको बताउनुभयो। पदभार ग्रहण कार्यक्रममा उपाध्यक्षद्वय डा. विश्वकेशर मास्के, शर्मिला कार्की र उपकोषाध्यक्ष होमप्रसाद पाठकको पनि उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्