कोरोना महामारीका कारण मेला पर्व नहुने



सुनील महर्जन, काठमाडौं
आज श्रावण शुल्क पूर्णिमा अर्थात् जनैपूर्णिमा, काठमाडौं उपत्यकामा गुपुंन्हि कहलाइन्छ। कोरोनाको कहर नहुँदो हो त काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आजदेखि जात्रा, पर्व शुरु भइसकेको हुन्थ्यो।
तर यसपटक कोरोना महामारीले गर्दा ती पर्वहरु नहुने भएको छ। ललितपुरमा हरेक वर्ष जनैपूर्णिमाको अघिल्लो रातदेखि ललितपुर महानगरपालिका+११ बंगलामुखीमा हुने सर्वेश्वर महादेवको मेला नहुने सार्वजनिक सूचना नै जारी गरेको छ।
कोरोना महामारीले गर्दा यसपटक मेला नहुने मेला व्यवस्थापन समितिका संयोजक अरोजकुमार खड्गीले जानकारी दिनुभयो। यद्यपि केही मानिसहरु मात्र बसेर धार्मिक विधि पुड्डयाउने गरी महादेवलाई नजिकैको पोखरीमा राखेर पूजाआजा गर्ने र त्यसपछि पुनः मन्दिरमा ल्याउने काम हुने पूर्ववडाध्यक्ष समेत रहनुभएका खड्गीले भन्नुभयो।
त्यसैगरी आइतबार राति बंगलामुखी परिसरमा हुने नौ बाजा बजाउने कार्यक्रम पनि बन्द गरिएको छ। काठमाडौं उपत्यकामा पूर्णिमाको दिनदेखि विभिन्न जात्रा, पर्व, झाँक्री, प्रदर्शनी लगातार आठ दिनसम्म चल्ने गर्दथ्यो। गाईजात्राका दिन पनि विधि पुड्डयाउने काम गर्न तर जात्रा पर्व नगर्न काठमाडौं र भक्तपुर नगरपालिकाले पनि सार्वजनिक अपिल नै गरेका छन्।
सरकारले लकडाउन खुकुलो पारेको छ। यसको अर्थ हामी संक्रमणबाट मुक्त भइसकेको भन्ने होइन। अझ संक्रमणको खतरा बढेको छ। त्यसैले गाईजात्राको दिन मृतक परिवारले धार्मिक विधि पुड्डयाउने गरी मात्र मान्न, झाँकी निकाल्न, भीडभाड नगर्न, मन्दिरहरुमा घुइँचो नगर्न आग्रह गरिएको भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापतिले बताउनुभयो।
काठमाडौं उपत्यकामा मनाइने जात्रा पर्वमध्ये भक्तपुरको गाईजात्रा विशेष प्रकारको जात्रा हो। देशका विभिन्न ठाउँबाट गाईजात्रा हेर्न मानिसहरु भक्तपुर आउने गर्छन्। गाईजात्रा पर्वलाई अनुशासित, मर्यादित र व्यवस्थित गर्न र संस्कृति संरक्षण गर्न यसअघि भक्तपुर नगरपालिकाले गाईजात्राको समयावधिभर प्रस्तुत हुने परम्परागत र आधुनिक विधाका छुद्माछुद्मै मूल्याकंन गरी पुरस्कारको समेत व्यवस्था गर्दै आएको छ।
नगरपालिकाले जिल्ला प्रशासन कार्यालय, महानगरीय प्रहरी परिसर, गुठी संस्थान, भैरवनाथ जात्रा सहयोग समिति, बाराही द्योछेँ, भैरवनाथ नाइके, आकाश भैरव नौ दाफा, चपाः दाफा भजन, दत्तात्रय दाफा भजनलगायत सरोकारवालाका प्रतिनिधिसँग पटकपटक बैठक गरी यो वर्ष गाईजात्रामा घिन्ताध्रघिसी नलाने, दाफा भजनमा सहभागी नहुने र सामान्य औपचारिकता मात्र सीमित गर्ने निर्णय गरेको छ।
त्यसैगरी गुँला बाजा समूहका प्रतिनिधिको भेलाले यो वर्ष गुँला बाजा स्थगित गर्ने निर्णय गरेको छ। त्यसै गरी काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पनि धार्मिक विधि पुड्डयाउने हिसाबले गाईजात्रा र अन्य पर्व मान्न आग्रह गर्दै भन्नुभयो- ‘स्वस्थ रह्यौं भने चाडपर्व र जात्रा हामी अर्को वर्ष मनाऔंला। अहिले कोरोनाबाट सुरक्षित रहनुपर्ने पहिलो आवश्यकता हो।’

प्रतिक्रिया दिनुहोस्