त्रिविको ताला खोल्न अन्तरिम आदेश



काठमाडौं, (नेस)
उच्च अदालत पाटनले त्रिविका तीन पदाधिकारी, सेवा आयोग र डीन कार्यालयमा लगाएको ताला खोल्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश रामबहादुर थापाको इजलासले ताला खोल्न अन्तरिम आदेश दिएको हो ।
नेपाली कांग्रेस निकट प्रजातन्त्रवादी प्राध्यापक संघले यही साउन ५ गते तालाबन्दी गरेका थिए । तालाबन्दी खोल्न माग गर्दै त्रिविका कर्मचारीले रिट दायर गराएका थिए । न्यायाधीस थापाले रिटको सुनुवाइ गर्दै ताला खोल्न आदेश दिनुभएको हो ।

संघले एकलौटी रुपमा भएका नियुक्ति बदर गरी योग्यता क्षमता र विशिष्टताको आधारमा पुनः नियुक्ति गर्नुपर्ने माग गरेको थियो । संघका अध्यक्ष सहप्राध्यापक जगत तिमल्सिनाले उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रार, सेवा आयोगका अध्यक्ष, डीन र क्याम्पस प्रमुखले राजीनामा दिएपछि मात्रै वार्ता गर्ने बताउनुभएको थियो ।

संघले ताला लगाएको भोलिपल्ट नेविसंघ र गएको आइतबार लोकतन्त्रवादी प्राध्यापक संघले ताला लगाएको थियो । तालाबन्दीका कारण त्रिविका आर्थिक, प्रशासनिक काम ठप्प भएको थियो ।

तालाबन्दी खोल्ने आदेश दिएपछि प्रतिक्रिया दिँदै संघका अध्यक्ष तिमल्सिनाले अब केन्द्रीय समितिको बैठकले थप संघर्षका कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिनुभयो । कस्तो कार्यक्रम घोषाण गर्ने भन्ने विषयमा एक दुई दिनभित्र निर्णय गर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्