पश्चिम सेती चाँडो बनाउनुपर्ने माग गर्दै वृक्षारोपण



नेपाल समाचारपत्र, डोटी
७५० मेगावाट क्षेमताको जलाशययुक्त पश्चिम सेती जलविद्युत् परियोजना निर्माणको कार्य चाँडो सुचारु गर्न सरकारसँग माग गर्दै डोटीमा वृक्षारोपण अभियान सञ्चालन गरिएको छ । ‘बोलन्या थली’ नामक अभियानका संयोजक यादव जोशीको अगुवाईमा जिल्लाको दिपायल सिलगाढी नगरपालिका–२ हलिखोलाबाट वृक्षारोपण गरी उक्त अभियानको शुभारम्भ गरिएको हो ।
भू तथा जलाधार व्यवस्थापन कार्यालय डोटीले उपलब्ध गराएका विभिन्न जातका विरुवा रोपेर उक्त अभियानको शुभारम्भ गरिएको संयोजक जोशीले बताउनुभयो । उहाँले भन्नुभयो–‘सुदूरपश्चिमको विकासको धरोहरका रुपमा रहेको पश्चिम सेती निर्माण कार्य वर्षौ बित्दा समेत शुरू नभएकाले हामीले उक्त परियोजना निर्माणका लागि विभिन्न रचनात्मक क्रियाकलापमार्फत् दबाब दिने कार्यक्रम अघि सारेका छौं,’
उक्त वृक्षारोपण कार्यक्रममा अभियानका सदस्य, राजनीतिकर्मी एवम् स्थानीयबासीसहित ६० जनाभन्दा बढीको सहभागिता रहेको थियो । ‘बोलन्या थली’ द्वारा सञ्चालित पश्चिम सेती निर्माण अभियानले सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहमा ७५० बोट बिरुवाका दरले कम्तिमा पनि ६६ हजार बोट बिरुवा बृक्षारोपान गर्ने योजना बनाएको छ । यसअघि पनि बोलन्या थलीले पश्चिम सेतीको माग राख्दै काठमाडौको माइतीघरमा कचौरा आन्दोलन, सडक, संगीत र संघर्ष, प्रधानमन्त्रीलाई १ लाख पत्र तथा दिपायलको पुलमा ७५० टुकी बाल्ने कार्यक्रम गरिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्