भक्तपुरमा मतदाताको संख्या १ लाख ७९ हजार ४ सय ७०



भक्तपुर, (नेस)
पछिल्लो तथ्यांकअनुसार भक्तपुर जिल्लामा मतदाताको संख्या १ लाख ७९ हजार ४ सय ७० पुगेको छ । जिल्ला निर्वाचन कार्यालय भक्तपुरको मतदाता नामावली संकलन तथा अद्यावधिक विवरणअनुसार आर्थिक वर्ष २०७६/७७ मा १ हजार ३ सय ७१ मतदाता थपिएका छन् ।
कार्यालयका सूचना अधिकारी भीमबहादुर बीसीले गत वर्ष महिला ६ सय ७३ र पुरुष ६ सय ९८ गरी कूल १ हजार ३ सय ७१ जना मतदाता थपिएको बताउनुभयो ।
निर्वाचन कार्यालयले गत वर्षको भदौ ८ गतेदेखि फोटोसहितको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम अघि बढाएको थियो । उक्त कार्यक्रमअनुसार भक्तपुरमा जिल्लाबाट बाहिरी जिल्लामा ठाउँ सार्न नौवटा निवेदन परेका छन्।
त्यस्तै बाहिरी जिल्लाबाट भक्तपुर आउन ३९ जनाले निवेदन दिएका छन् । भक्तपुर जिल्लाभित्रै आन्तरिक अद्यावधिकका लागि भने १८ वटा निवेदन परेको कार्यालयले जनाएको छ । भक्तपुरमा दुईवटा संघीय निर्वाचन क्षेत्र, ४ वटा प्रादेशिक निर्वाचन क्षेत्र, ४ नगरपालिका र ३८ वडा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्