तानसेन–बुटवल सडक खण्ड भासियो

ठूला सवारीसाधन नचलाउन प्रशाासनको अनुरोध



Vehicle plying along Siddhartha Highway near Siddhababa raod section in Butwal, on Friday, October 13, 2017. Photo: Mausam Shah Nepali

कविराज नेपाल, पाल्पा । 
सधैंको जोखिमपूर्ण रहेको सिद्धार्थ राजमार्गमा पहिरो गई विभिन्न स्थानमा सडक अवरुद्ध हँुदै आएकोमा अविरल वर्षाका कारण यो खण्डको विभिन्न स्थानमा पहिरो आई सडक पनि भासिन शुरू भएको छ ।

वर्षायाम शुरू भएसँगै दोभानस्थित पैठेडाँडा, सिद्धबाबा, नागस्थान, गौडेपुल पानीमिललगायतका स्थानमा पटकपटक पहिरो जाने र ढुंगा खस्ने समस्या भइरहेकामा पछिल्लोपटक विभिन्न स्थानमा पहिरो गई सडक भासिन थालेको छ ।

सडक भासिएपछि आवागमनमा कठिनाइ भएको र जोखिमपूर्ण भएकाले सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै ठूला सवारीसाधन आवातजावत नगर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ । यसअघि पनि जिल्ला प्रहरी कार्यालयले साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म अत्यावश्यकबाहेक यो सडकमा यात्रा नगर्न अनुरोध गरिसकेको थियो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी मदन गिरीले यो सडकमार्ग भएर यात्रा गर्दा निकै जोखिम भएकाले अत्यावश्यक नभई यात्रा नगर्न अनुरोध गर्नुभएको छ ।

जिल्ला प्रशासन कार्यालय पाल्पाले वैकल्पिक बाटोको अवस्था हेरी साना सवारीसाधन मात्र गुड्न सक्ने अवस्था भएको र ठूला सवारीसाधान नचलाउन अनुरोध गरेको छ भने प्राविधिकको टोलीले हेरेर विकल्पको खोजीसहित सडक सुचारु गर्ने प्रयास भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्