ध्यान केन्द्र निर्माण गर्न १० लाख दान



नेपाल समाचारपत्र, ललितपुर
मंगलमार्ग अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रको निर्माणको लागि रामकाजी अवालले एक्लैले १० लाख रुपियाँ दान दिनुभएको छ ।
केन्द्रका अध्यक्षसमेत रहनुभएका दाता अवालले आफ्नी श्रीमती पूर्णलक्ष्मी अवालेको समेत सहमतिमा विहार निर्माण शुरुआत गर्न पञ्चदानको अवसर पारेर मंगलबार सो रकम दिनुभएको हो । सो रकमको चेक ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनमार्फत कोषाध्यक्ष रामकृष्ण महर्जनलाई हस्तान्तरण गरिएको थियो ।
यसअघि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले चालू आर्थिक वर्षमा महानगरपालिकाले विहार निर्माणको लागि १५ लाख रुपियाँ विनियोजित गरेको जानकारी दिनुभयो ।
सोही अवसरमा कार्यसमिति सदस्य तीर्थ शाक्यले आफ्नो परिवारको तर्फबाट १ लाख रुपियाँ दान दिने इच्छा व्यक्त गर्नुभयो । त्यसै गरी चालू आर्थिक वर्षमा विहार निर्माणको लागि वाग्मती प्रदेश सरकारबाट ५० लाख रुपियाँ विनियोजित गरिएको केन्द्रका उपाध्यक्ष एवं प्रदेशसभा सदस्य शोभा शाक्यले जानकारी दिनुभयो ।
सो अवसरमा भवन केन्द्रका उपाध्यक्ष एवं भवन निर्माण समितिका संयोजक अजरमान जोशीले तीन वटा ब्लकमध्ये एक प्रदेश र एक दाताहरुको सहयोग र एक महानगरपालिकाबाट बनाउने तयारी गरिएको भन्दै जानकारी गराउँदै मेयर महर्जन समक्ष कम्तीमा ५० लाख बजेट विनियोजित गरी दिन माग एक वर्षदेखि गर्दै आएको बताउनुभयो । विहारको निर्माणको करिब ३ करोड लाग्ने बताइएको छ ।
पूर्णचण्डी निवासी दशलाल डंगोल र उहाँकी श्रीमती राममाया महर्जनले ललितपुर महानगरपालिका–१३ स्थित नख्खुमा ध्यान केन्द बनाउन १ रोपनी १ आना जग्गा दान दिनुभएको थियो । स्वर्गीय दोलेन्द्ररत्न शाक्यको नियमित धर्मचर्चामा सहभागी हुँदै आउनुभएका उपासक दशलाल डंगोलले आफ्नो मनमा श्रद्धाचित्त उत्पन्न भई तथागत गौतम बुद्धको ज्ञान र ध्यानको अभ्यास गराउन, विभिन्न देशबाट आउनुहुने भिक्षुहरुलाई राख्ने उद्देश्यले सो जग्गा दान दिनुभएको हो ।

पौडी खेल्ने क्रममा डुबेर मृत्यु
भक्तपुर, (नेस)
भक्तपुरको कमलपोखरीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।
मंगलबार कमलपोखरीमा पौडी खेल्ने क्रममा डुबेर चाँगुनारायण नगरपालिका–९ सौडोल बस्ने ५१ वर्षीय राजेश खड्काको मृत्यु भएको हो।
प्रत्यक्षदर्शीले खड्का आफूले लगाएको लुगा पोखरीको किनारामा छाडेर पौडी खेल्न गएको र सोही क्रममा बेपत्ता भएको प्रहरीलाई खबर गरेका थिए । पौडी खेल्दै गर्दा दुई पटक निस्किए पनि तेस्रो पटकमा भने उनी पोखरीमा डुबेर बेपत्ता भएका थिए ।
उनी डुबेको खबर पाएसँगै उद्धार गर्न महानगरीय प्रहरी वृत्त जगाती र महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रह संयुक्त टोली खटिएको थियो ।
घटनास्थलबाट उनको उद्धार गरी भक्तपुर अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक गिरीले बताउनुभयो ।

अत्यावश्यक कामभन्दा बाहिर ननिस्कने अनुरोध
स्याङ्जा, (नेस)
कोरोना भाइरसको महामारी बढेसंगै अत्यावश्यक काम भन्दा बाहिर ननिस्कन जिल्ला प्रशासन स्याङ्जाले अनुरोध गरेको छ ।
जिल्ला प्रहरी कार्यलयमा कार्यरत ३८ प्रहरी कर्मचारीलाई कोरोना देखिएपछि मंगलबार देखि १० दिनको लागि जिल्लामा अत्यावश्यक काम वा सेवा बाहेक सबै बन्द गरिएको प्रमुख जिल्ला अधिकारी गगाँ बहादुर क्षेत्रीले जानकारी जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो– ‘अत्यावश्यक काम भन्दा बाहिर ननिस्कन र बाहिर निस्किनै परे अनिवार्य रुपमा माक्सको प्रयोग गर्न जिल्लावासीलाई अनुरोध छ ।’ जिल्लाका ११ स्थानीय तहलाई सोही अनुसारको पत्राचार समेत गरिएको उहाँको भनाइ थियो ।
लामो समयको लकडाउन बाट निरास भएको व्यावसायिक क्षेत्र लकडाउन खुले लगत्तै केही आशावादी देखिपनी जिल्लामा कोरोनाको महामारी बढेसंगै प्रशासनले गरेको नयाँ निर्णयबाट चिन्तित बनेको छ ।
जिल्लाका सुरक्षा कर्मीमा कोरोना भाइरसको लक्षण देखा परेसंगै परिक्षण गर्दा पहिलो पटक ३ जना र दोस्रो पटक १८ जनामा कोरोना देखा परेको थियो भने मंगलबार प्राप्त रिपोटमा १६ जना सुरक्षाकर्मीको रिपोर्ट पोजेटिभ आएपछि दश दिनको लागि जिल्लामा यस्तो निर्णय गरिएको हो । हाल जिल्लाभर २४९ जना कोरोना सक्रमीत रहेका छन् ।

कांग्रेसको ‘अर्जुनदृष्टि’ मा चट्टानी भीर (स्लग)
‘सरकारले नबनाए कांग्रेसले बनाउँछ’
नेपाल समाचारपत्र, हेटौंडा
मकवानपुरको बिकट गाउँका नागरिकले पाएको दुःख सम्झिएर सरकारलाई बाटो बनाउन कयौं पटक आग्रह गर्दा पनि सुनुवाइ नभएपछि उक्त स्थानमा सरकारले बाटो बनाएर विपन्न नागरिकलाई सुबिधा नदिए आफ्नै खर्चमा बाटो बनाउने प्रतिवद्धता व्यक्त गरिएको छ ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता, सोही क्षेत्रका प्रदेश सांसद एवम् पार्टी मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले सरकारले नबनाए व्यक्तिगत खर्चमा राक्सिराङ–४ मा पर्ने परेवाभीरबाट सडक बनाउने उद्घोष गर्नुभएको हो ।
नेपाली कांग्रेस मकवानपुर पार्टी कार्यालयमा बुधबार पत्रकार सम्मेलन गर्दै नेता बानियाँले यस्तो उद्घोष गर्नुभयो । मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकाका जनताको जीवनस्तर उकास्न परेवाभीरबाट सडक बनाउनुपरेको उहाँको भनाइ छ ।
त्यहाँ जनता गाँजाको भरिया बनेको भरमा जेल जानुपर्ने अबस्था आएको बताउँदै उहाँले जनतालाई गाँजाखेतीको विकल्पमा अन्य खेतीप्रणालीमा जोड्न सडकसञ्जाल आबश्यक रहेको बताउनुभयो ।
जनताको मागअनुसार नै परेवाभीर आफ्नो ‘अर्जुनदृष्टि’ बनेको भन्दै उहाँले सरकारबाट नबने व्यक्तिगत खर्चमा पनि बनाएरै छाड्ने बताउनुभयो । उहाँले परेवाभीरको विकल्प नरहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो–मैले त्यही क्षेत्रबाट चुनाब लडेको हुँ, त्यहाँका जनताको समस्या मैले समाधानको प्रयास गर्नुपर्छ । प्रदेश सरकारलाई धेरैपटक पहल गरेको छु, गरिरहेकै छु । यदि प्रदेश सरकारले त्यसमा चासो नदेखाए म निजी खर्चमा भने पनि बाटो बनाएरै छाड्छु ।
त्यहाँका जनता बाटो नहुँदा विभिन्न रोजगारीको अवसरबाट बञ्चित भएका छन् । गाँजा बोकेर जीवन धान्नुपर्ने बाध्यता अन्त्य गर्नुपर्ने उहाँको भनाइ छ ।
बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फँुयालसमक्ष दर्जनौंपटक लिखित र मौखिक ध्यानाकर्षण गराउँदा पनि उपेक्षामा परेको परेवाभीर सडक निर्माणका लागि बानियाँ तातिनुभएको हो । उक्त बाटो निर्माणका लागि संघीय प्रतिनिधिदेखि वडा तहसम्मका जनप्रतिनिधि पनि एक भएका छन् । संघीय सांसद विरोध खतिवडा, बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरु, मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकाका जनप्रतिनिधिले बाटो बनाउन कम्मर कसेर लाग्ने जनाएका छन् ।
हाल मनहरीबाट परेवाभीर हुँदै राक्सिराङतर्फबाट मलेखु जोड्ने र कैलाशतर्फबाट आदमघाट जोड्ने सडक निर्माण गर्दा बीचमा पर्ने परेवाभीर खण्ड निर्माणको बिकल्प नरहेकोमा बानियाँको कथन छ ।
मकवानपुर क्षेत्र नम्बर–२ का सांसद खतिवडा, संविधानसभा सदस्य राजाराम स्यांतान, बागमती प्रदेशसभा सदस्य ओमबहादुर ग्लान र सन्तबहादुर चेपाङ, कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तान, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्ट, मनहरी गाउँपालिका–८ का अध्यक्ष दिलबहादुर स्यांतान, राक्सिराङ गाउँपालिका–४ अध्यक्ष सञ्जय कोइरालासहित सरोकारवालाले पनि बाटो बनाउने मुद्धामा सहमति जनाइसकेका छन् ।
राक्सिराङ गाउँपालिकाले यसबारे डीपीआर तयार गरेको छ । ठूला रड र कंक्रिट पर्खाल निर्माण गरी ४ मिटर बलियो बाटो निर्माण गर्न सकिने प्राविधिक अध्ययन प्रतिवेदन रहेको राक्सिराङ गाउँपालिका अध्यक्ष मल्लले जानकारी दिनुभएको छ ।
मकवानपुरको अतिबिकट राक्सिराङ गाउँपालिकामा पर्ने परेवाभीर खण्डमा सडक निर्माणका लागि पहल गर्दै आउनुभएका प्रदेश सांसद ओमबहादुर ग्लानले परेवाभीरबाट लडेर मान्छे मरे हेटौंडाको मुख्य बजार क्षेत्र बुद्धचोकमा ल्याएर दाहसंस्कार गर्ने धम्की संसद्मै दिनुभएको छ ।
‘करिब ५ सय मिटर रहेको उक्त चट्टानी भीरको बाटो हातले समाउँदै वर्षामा नुनतेल र बिरामी बोकेर लैजानुपर्ने बाध्यता छ,’ सांसद ग्लानले ज्यानमारा भीरको बाटो हुँदै वर्षको करिब ४ महिना काँकडा, राक्सिराङ, भार्ता र डाँडाखर्कका कम्तिमा १० हजार मानिस आवतजावत गर्नुपर्ने बाध्यतामा रहेको बताउनुभएको छ ।
वर्षामा खोलाको बाटो अवरुद्ध भएपछि प्राकृतिक भीरका चट्टान समातेर ज्यान जोखिममा पारेर हिँड्नुको बिकल्प छैन । उक्त बाटोका अंशहरु धादिङतिर बाटो बनिसकेको छ भने नुवाकोटमा त गाडी नै गुडिसकेको छ । मकवानपुर खण्डमा भने ट्रयाक नै खुलेको छैन ।
उक्त कार्यका लागि प्रदेशका मन्त्रीहरु र सांसदहरुलाई भीरमुनि लगेर अबस्थाबारे स्थलगत जानकारी गराउँदा पनि न बजेट न त नीति तथा कार्यक्रममा समेटिएको भन्दै सांसद ग्लानले आक्रोश पोख्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्