सशस्त्र प्रहरीका दुई जना इन्स्पेक्टर तानिए



भद्रपुर(ने.स)।

भारतसँग जोडिएको खुल्ला सीमा केचना र पृथीवीनगर नाकाबाट तस्करी गतिविधिमा सहयोग पुर्याएको गुनासो पुगेपछि सशस्त्र प्रहरी बोर्डर आउट पोस्टमा कार्यरत दुइजना इन्सपेक्टर छानविनमा परेका छन् । केचनाका इन्स्पेक्टर लोकबहादुर तामाङ र बोर्डर आउट पोस्ट पृथ्वीनगरका इन्स्पेक्टर कमल थानीलाई मङ्गलबार कार्य क्षेत्रबाट तानिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरीका डिआइजी वंशीराज दाहालको निर्देशनमा तामाङलाई सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरी र थानीलाई सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापामा पठाइएको छ ।

खाली स्थानमा इन्सपेक्टर सियाराम चौधरी केचना र पृथ्वीनगरमा इन्स्पेक्टर चेतन बाराकोटीलाई पठाइएको सशस्त्र प्रहरी बल २ नम्बर गण झापाका सुचना अधिकृत द्रोणविक्रम शाहले बताउँनुभयो । उहाँहरुलाइ माथिको आदेशमा फिर्ता बोलाइएको जानकारी आएको उहाँले जनाउँनुभयो ।

यता सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह बाहिनी मुख्यालय सुनसरीका डिआइजी दाहालले मङ्गलबार जिल्लाका गण तथा विओपीहरुको स्थलगत अनुगमन गर्नुभएको छ । अनुगमनको क्रममै उहाँहरूलाई त्यहाँबाट तानिएको शसस्त्र प्रहरी स्रोतले जनाएको छ । उहाँहरुको विषयमा गृहमा उजुरी परेकोले छानविनका लागि लगेको जानकारीमा आएको एक प्रहरीले जानकारी दिनुभयो ।

४७ बोरा सुख्खा सुपारी बरामद
काँकडभिट्टा नाकामा तस्करी मौलाएसँगै जिल्ला प्रहरी कार्यालय झापा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको सादा पोसाकको प्रहरी टोलीले आइतबार राती मेचीनगर नगरपालिका ४ प्रसाद गौँडा स्थित नेपाल भारतको दशगजा क्षेत्रबाट ४७ बोरा सुख्खा सुपारी बरामद गरेको छ ।

भारत लैजान ठिक्क पारेको सो परिमाणको सुपारी विशेष सूचनाको आधारमा प्रहरीले बरामद गरेको हो । एक हजार चार सय सत्तरी केजी परिमाणको मूल्य करिब ४ लाख ४१ हजारको सुपारी सोमबार नै मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइसकेको जिल्लाका डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्