परेवाभीरमा बाटो बनाउन जनप्रतिनिधि प्रतिबद्ध



रोशन पराजुली, हेटौंडा
बाग्मती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेल, भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फँुयालसमक्ष दर्जनौंपटक लिखित र मौखिक ध्यानाकर्षण गराउँदा पनि उपेक्षामा परेको विकट राक्सिराङ–५ स्थित परेवाभीर सडक निर्माणका लागि संघीय प्रतिनिधिदेखि वडा तहसम्मका जनप्रतिनिधि एक भएका छन् ।

संघीय सांसद विरोध खतिवडाको संयोजनमा बाग्मती प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद्हरू मनहरी, राक्सिराङ र कैलाश गाउँपालिकाका जनप्रतिनिधिसहित बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

हाल मनहरीबाट परेवाभीर हुँदै राक्सिराङतर्फबाट मलेखु जोड्ने र कैलाशतर्फबाट आदमघाट जोड्ने सडक निर्माण गर्दा बीचमा पर्ने परेवाभीर खण्ड निर्माणको बिकल्प नरहेकोमा मकवानपुर क्षेत्र नम्बर–२ का सांसद् खतिवडा, संविधानसभा सदस्य राजाराम स्याङ्तान, बाग्मती प्रदेशसभा सदस्य ओमबहादुर ग्लान र सन्तबहादुर चेपाङ, कैलाश गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तान, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, मनहरी गाउँपालिका उपाध्यक्ष मनिला बिष्ट, मनहरी गाउँपालिका–८ अध्यक्ष दिलबहादुर स्याङ्तान, राक्सिराङ गाउँपालिका–४ अध्यक्ष सञ्जय कोइरालासहित सरोकारवालाको सहमति बनेको हो ।

छलफलमा राक्सिराङ गाउँपालिकाले गरेको डीपीआरबारे प्राविधिक छलफल भएको थियो । छलफलमा ठूला रड र कंक्रिट पर्खाल निर्माण गरी ४ मिटर बलियो बाटो निर्माण गर्न सकिने प्राविधिक अध्ययन प्रतिवेदनबारे राक्सिराङ गाउँपालिका अध्यक्ष मल्लले जानकारी दिनुभयो । उक्त खण्डमा ४ करोड लागतमा नदीकिनारबाट सडक बनाउन प्राविधिकहरू तयार रहेको जानकारी अध्यक्ष मल्लले दिएपछि संघीय सांसद् खतिवडाले कहींकतैबाट जोहो गरेर भए पनि बाटो निर्माण कार्य थाल्न मल्ललाई सुझाव दिनुभयो ।

सांसद् ग्लानले कोही कसैप्रति टिप्पणी गरिरहनुभन्दा पनि परेवाभीर सडक निर्माणमै केन्द्रित हुनु जरुरी रहेको बताउनुभयो । ‘एकपटक होइन, धेरै पटक हामीले पहल ग¥यौं । तर, मुख्यमन्त्रीले मान्नुभएन’, सांसद् ग्लानले भन्नुभयो– ‘उहाँसँग फेरि पनि यस विषयमा समय निकालेर छलफल गर्छौ ।’

प्रतिक्रिया दिनुहोस्