कोरानाको त्रास



कोरोना संक्रमणका कारण विश्व नै अहिले आक्रान्त छ । संसारभर अहिले कोरोना महामारीका कारण हरेक क्षेत्र संकटतर्फ उन्मुख हुदै गएको छ । उद्योग कलकारखानादेखि दैनिक ज्याला मजदुरी गरेर जीवन यापन गर्ने मजदुरहरु सर्वाधिक रुपमा यसको चपेटामा परेका छन् । अहिले विश्वको अर्थतन्त्र नराम्रोसंँग प्रभावित हुनपुगेको छ । पिछडिएका मुलुक मात्र होइन अति सम्पन्न मुलुकहरुसमेत कोरोना महामारीको चपेटामा परेपछि यसबाट पार पाउन विभिन्न उपाय अवलम्वन गरेपनि अहिलेसम्म यसबाट पार पाउने छांँट देखिएको छैन ।

कोरोना भाइरस विरुद्धको खोप बनाउन संसारभरका वैज्ञानिकहरु जुटेपनि अहिलेसम्म आशाअनुरुप सफलता भने हात लाग्न सकेको छैन । कोरोनाबाट बच्ने उपाय भनेको लकडाउन नै हो । संसारभर लामो समयसम्म मुलुकहरुलाई लकडाउनमा राख्ने काम नभएको पनि होइन तर महिनौंसम्म लकडाउन गर्दा मुलुकको आर्थिक अवस्था बिग्रदै गएपछि संसारभरका मुलुकले लकडाउन खुकुलो बनाउँदै लैजान थालेपछि कोरोनाको संक्रमण समुदायमा विस्तारै प्रवेश गर्न थालेको छ ।

नेपालमा पनि कोरोना संक्रमितको संख्या घटेकोजस्तो देखिएपनि विस्तारै समुदायमा प्रवेश गर्न थालेको छ । सरकारले मुलुकबाट लकडाउन हटाएको घोषणा गरेसंँगै मुलुक अहिले चलायमान भएको छ । तर यससंँगै कोरोना संक्रमण घनबस्ती भएको समुदायमा विस्तारै प्रवेश गरेको देखिन्छ । अहिले राजधानी उपत्यका लगायत मुलुकका मुख्य शहरहरुका कोरोना संक्रमित हुनेको संख्या बिस्तारै बढ्दै गएको छ ।

सरकार र विज्ञहरुले कोरोनाबाट बच्न अवलम्वन गर्नुपर्ने उपायको बारेमा हरेक दिन जनस्तरमा फैलाउँदै गएपनि जनतामा भने अझै चेतना विकास भएको पाइँदैन । मास्क अनिवार्य गरेको भएपनि अहिले हुलमुलमा हिड्ने कैयन मानिस बिनामास्क हिडिरहनु र भिडभाड हुने व्यवसाय गरेका व्यक्तिमा नै कोरोना संक्रमण देखिनुले यो भाइरस समुदायमा प्रवेश गरेको आशंका गर्न थालिएको छ । हिजो विदेशबाट स्वदेश फर्केका व्यक्तिमा मात्रै सीमित रहेको कोरोना संक्रमण अहिले समुदायभित्र प्रवेश गरेर यात्रा–इतिहास नभएका व्यक्तिमा समेत संक्रमण देखिएपछि अहिले सरकार गम्भीर हुन थालेको देखिन्छ ।

सावधानीका उपायहरु अलवम्वन नगर्नेलाई कडा कारवाही नगर्ने हो भने यसले बिस्तारै महामारीको रुप लिने देखिन्छ । यसतर्फ नियामक निकायका साथै सरोकारवालाहरु पनि चनाखो बन्नुपर्ने अवस्था सिर्जना भएको छ । आम नेपालीमा कोरोना संक्रमणलाई हेलचेक्र्याइँपूर्ण तरिकाले हेर्ने दृष्टिकोणमा परिवर्तन आएन भने मुलुककालागि अर्को दुर्भाग्य बन्ने देखिन्छ । कस्ता कस्ता रोगलाई त पराजित गरियो यो भाइरसलाई सजिलै पराजित गरिन्छ भन्ने नेपालीको मानसिकतामा परिर्वतन ल्याउन जरुरी देखिन्छ ।

सरकारी नियम–कानुन उल्लंघन गर्नेलाई कारवाहीको दायरामा ल्याई समुदायभित्र प्रवेश गर्दैगरेको कोरोना संक्रमण रोक्न राज्य निर्मम हुनै पर्दछ । होइन भने यसले मुलुकको सबै सूचकांकमा धक्का नदेला भन्न सकिन्न । खासगरी पुनः बन्दाबन्दीको अवस्थामा फर्किन न राज्य चाहन्छ न आम जनता नै । बन्दाबन्दीले लाखौं नागरिकको रोजीरोटीमा आघात पुगेको छ । यही अवस्था पुनः दोहोरिने हो भने आर्थिक कारणले जनता अझ ठूलो समस्यामा पर्नेछन् । त्यसैले नागरिक सचेतना र सावधानी एक्लो विकल्प देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्