२४ घण्टामा ८ को मृत्यु



नेपाल समाचारपत्र, काठमाडौं

मनसुनी वायुको प्रभावले परेको वर्षात्बाट निम्तिएको विपद्मा परी पछिल्लो २४ घण्टामा ८ जनाले ज्यान गुमाएका छन् भने २ जना अझै बेपत्ता छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण्को सोमबार बिहान १० बजेदेखि मंगलबार बिहान १० बजेसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । प्राधिकरणका अनुसार विभिन्न जिल्लामा गरी १४ स्थानमा पहिरो, ७ स्थानमा अविरल वर्षा, पाँच स्थानमा आगलागी भएको छ ।

मुस्ताङमा पहिरोले घर भत्किँदा एकको मृत्यु र अर्का एक जना घाइते भएका थिए । रुकुममा पहिरोमा परी दुई जनाको मृत्यु र एक घाइते भएका थिए । दार्चुलामा पहिरोमा परी बेपत्ता भएका एक बालक मृत फेला परेको प्राधिकरणले जनाएको छ ।

त्यस्तै बाग्लुङमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भयो भने पाल्पामा पहिरोको भलले बगाउँदा एकको मृत्यु भएको थियो । म्याग्दीमा पहिरोले रुख ढल्दा च्यापिएर दुई जना घाइते भएका थिए ।

त्यस्तै गरी तीन राजमार्ग अवरुद्ध भएको प्राधिकरणले जनाएको छ । भोजपुरको पौवादुम्मा गाउँपालिका–२ तिवारी भन्ज्याङस्थित मध्यपहाडी लोकमार्गमा पहिरो झरी बाटो अवरुद्ध भएको छ ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ कोठेस्थित अरनिको राजमार्ग अविरल परेको वर्षाका कारण ढुंगा र लेदो आई बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ । पाल्पाको तानसेन नगरपालिका–८ गौडेपुल नजिकै सिद्धार्थ राजमार्गमा पहिरो झरी बाटो अवरुद्ध भएको छ ।

यो सँगै मनसुन शुरु भएयता पहिरोमा परी १ सय २९ को मृत्यु, ४४ बेपत्ता र १ सय १८ घाइते भएका छन् भने बाढीमा परी ३ को मृत्यु, ६ जना बेपत्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्