बरामद १५ केजी पहेंलो धातुमा ५ सय ग्राम मात्रै सुन



काठमाडौं, (नेस)
प्रहरीले मंगलबार बिहान कमलादीस्थित नविल बैंक नजिकैबाट बरामद गरेको सुन ५ सय ग्राम मात्रै भएको दाबी गरेको छ । प्रहरीले शुरुमा १५ केजी सुन बरामद गरेको भन्दै मिडियाबाजी गरेको थियो ।

मंगलबार बिहान कृष्ण पाउरोटी चोक नजिकै चेकिङमा बसेको प्रहरीले बा६च ५५१९ नम्वरको स्र्कोपियो चेक गर्न लाग्दा भागेपछि उसको पिछा गर्दै जाँदा नविल बैक अगाडि झोला फ्याकेर भागेपछि प्रहरीले झोलामा १५ केजी सुन भनेर बरामद गरेको थियो ।

प्रहरीले बरामद गरेको उक्त सुन चेक गर्दा चाँदीमा सुनको जलप लगाएर ल्याएको अवस्थामा फेला परेको महानगरीय प्रहरी वृत्त दरवारमार्गका प्रमुख डीएसपी रञ्जन दाहालले जानकारी दिनुभयो ।

प्रहरीले उक्त गाडीलाई पिछा गर्दै जाँदा सेतो झोला फ्याँकेर स्कोर्पियो भाग्न सफल भएको पनि डीएसपी दाहालले जानकारी दिनुभयो । गाडी कता भाग्यो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । राजधानीमा सीसीटिभी जताततै भए पनि प्रहरीले भागेको उक्त सवारीसाधनको बारेमा अहिलेसम्म कुनै सुइँको समेत पाउन सकेको छैन ।
झोला हेर्न थालेपछि सुन तस्करहरु भाग्न सफल भएको भन्दै प्रहरीले लाचारी व्यक्त गरेको छ । उक्त झोलाभित्र २ वटा चिनियाँ पेस्तोलसमेत बरामद गरेको प्रहरीले जानकारी दिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्याम ज्ञवालीले ४२ लाखको सुन र १५ लाख मूल्य बराबरको साँढे १४ केजी चाँदी बरामद गरेको जानकारी दिनुभयो ।

प्रहरीले भागेको गाडीमा ठूलो मात्रामा सुन भएको आशंका गरेको छ । प्रहरीले भागेको सवारीसाधन कसको नाममा रहेको हो भनेर यातायात व्यवस्था विभागमा पुगेर खोजी शुरु गरेको छ ।

प्रहरीले सुन तस्करको ठूलै समूह अहिले सक्रिय रहेको निष्कर्ष निकाल्दै तस्करको खोजीलाई तीव्र बनाएको छ । भागेको सवारीसाधनमा सुन तस्करले प्रहरीलाई झुक्याउन चाँदीमा सुनको जलप लगाएको झोला फालेर भागेको निष्कर्षमा प्रहरी पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्