वामदेवको प्रस्तावः महाधिवेशनसम्म ओली प्रधानमन्त्री, प्रचण्ड कार्यकारी अध्यक्ष



न्युज अफ नेपाल, काठमाडौँ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी भित्र चुलिएको विवादलाई साम्य पार्न दुई अध्यक्ष समक्ष प्रस्ताव राख्नुभएको छ ।

उहाँले मंगलबार एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रस्ताव राख्नुभएको हो ।

उहाँले प्रधानमन्त्री ओलीलाई एकता महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको कार्यकालको बाँकी अवधीभर प्रधानमन्त्रीको जिम्मेवारीमा रहन प्रस्ताव गर्नु भएको छ । त्यस्तै अर्का अध्यक्ष प्रचण्डलाई उहाँले एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकार सहित अध्यक्षको जिम्मेवारीमा रहन आग्रह गर्नुभएको छ ।

उहाँले पार्टीको एकता महाधिवेशन भने सहमतिमा आयोजना गर्ने प्रस्ताव अघि सार्नु भएको छ । प्रधानमन्त्रीका दैनन्दीनका कामहरुमा पार्टीले हस्तक्षेप नगर्ने विज्ञप्तीमा उल्लेख छ ।

तर सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका विषयहरुमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयमा परामर्श गर्ने भनेको छ । प्रशासन तथा सुरक्षा निकायका कर्मचारीहरुको पदोन्नती र सरुवाका लागि मापदण्ड निश्चित गरी कार्यान्वयन गर्ने भनेको छ ।

विज्ञप्तीमा भनिएको छ–‘पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शमा मन्त्री परिषद् पुनर्गठन तथा राजनीतिक तथा सम्बैधानिक नियुक्ति गर्ने । संसदमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपूर्व सचिवालयको परामर्श लिने ।’ अबदेखि पार्टीका बैठकहरु पार्टी कार्यालयमा आयोजना गर्न समेत उहाँले प्रस्ताव राख्नु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्