बाढी–पहिरोको कहरः रुख ढल्दा दुई घाइते, सात घर बगायो, २० घर जोखिममा



प्रताप बानियाँ, म्याग्दी

म्याग्दीको बेनी नगरपालिका–९ घतानको काउलेगौंडास्थित सोमबार दिउँसो रुखले च्यापेर दु्ई जना घाइते भएका छन् ।

गलेश्वरबाट काउलेगौंडा जाँदै गरेको लु११प ४२३३ नम्बरको मोटरसाइकलमा सवार दुई जना सडकभन्दा माथिबाट ढलेको सल्लाको रुखले च्यापिँदा घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

घाइते हुनेहरुमा एनएमबी माइक्रो फाइनान्स गलेश्वरमा कार्यरत जाजरकोट छेडागाउँ नगरपालिका–१३ ओलमुल्लाका २४ वर्षीय शर्मालाल आचार्य र स्याङ्जाको गल्याङ नगरपालिका–१० पकुवादीका २५ वर्षीय रोशन उपाध्याय रहेको प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले बताउनुभयो ।

उनीहरु दुवैलाई बेनी अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि प्रभु एअरको हेलिकप्टरमार्फत मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको प्रनाउ कुँबरले जानकारी दिनुभयो ।

यसैबीच अविरल वर्षाले मंगला गाउँपालिका–३, बराङ्जास्थित पखेरमा अन्दाजी ६० मिटर सडक भत्किएर भलबाढी पस्दा पखेरका ७ घर तथा एउटा पौवालाई क्षति पु¥याएको प्रहरीले जनाएको छ ।

तीमध्ये पखेरका सूर्यबहादुर थापा, मनबहादुर पुर्जा, कर्णे बुढाथोकी, विरे बुढाथोकी, दलबहादुर रोका (क) र दलबहादुर रोका (ख) को ढुङ्गाले छाएको कच्ची घरमा लेदो माटो र भलबाढी पसेर क्षति गरेको प्रनाउ कुँवरले बताउनुभयो ।

त्यस्तै पखेरमा रहेको सार्वजनिक ठाँटी (पौवा)मा समेत भलबाढी र माटो पसेर पुरिएको छ ।
यसै गरी बेनी नगरपालिका–६, डम्बरास्थित गए रातिदेखि परेको अविरल वर्षाले वस्तीभन्दा १ सय मिटर माथिबाट खसेको पहिरोले डम्बराका झन्डै २० घर उच्च जोखिममा परेको प्रहरीले जानकारी दिएको छ । यता सदरमुकाम बेनीबजारको क्याम्पसचोक क्षेत्रमा बाढी आएर सडक अवरोध गर्नुका साथै केही पसल जोखिममा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्