इन्जिनियर कुटिएपछि काम ठप्प



विमल विष्ट, डोटी

डोटीकोे पूर्वीचौकी गाउँपालिकाको कार्यालयमै इन्जिनियएर कुटिएपछि कर्मचारीले विरोध जनाउँदै दैनिक कामकाज ठप्प पारेका छन् ।

नेकपाका जिल्ला कार्यसमिति सदस्यसमेत रहेका सानागाउँ खानेपानी उपभोक्ता समितिका अध्यक्ष देवबहादुर खड्काले गाउँपालिकाका इन्जिनियर शङ्करराज खनाललाई केही दिनअघि कार्यालयमै कुटपिट गरेका थिए । खानेपानीको विषयमा विवाद भएपछि खानेपानी अध्यक्ष खड्काले कार्यालयमै कुटपिट गरेको कर्मचारीले जनाएका छन् । कुटपिट गर्ने खड्कालाई अहिलेसम्म कुनै कानुनी कारबाही नभएको भन्दै कर्मचारीले विरोधस्वरूप आफ्नो दैनिक काम काज बन्द गरेका हुन् ।

उता घटनामा संलग्न भनिएका नेकपाका नेता तथा सानागाउँ खानेपानी उपभोक्ता समितिका अध्यक्ष खड्काले खानेपानीको योजनामा इन्जिनियरले आफूसित रकम घूस मागेका कारण थप्पड हानेको भन्दै भन्नुभयो– ‘हाम्रो खानेपानी निर्माणका क्वान्टिटी पनि घटाइदिनुभयो, फेरि रकम नदिए बेरुजु निकाल्छु भन्दा एक थप्पड हानेको हुँ ।’ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर खड्काद्वारा हस्ताक्षर गरिएको एक विज्ञप्तिमा दोषीउपर कडा कारबाहीको माग राख्दै घटनाको घोर भत्र्सना गरिएको छ ।

गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले कर्मचारी कुटिएको विषयमा छानबिन भइरहेको दोषी देखिए कानुनी कारबाही हुने बताउनुभयो । सांसद विकास कोषको २० लाख रकमबाट सञ्चालन भइरहेको उक्त खानेपानी योजनाको प्राविधिक मूल्याङ्कन गर्दा ६ लाख ७२ हजार बराबरको मात्रै काम भएको इन्जिनियर खनालले लिखित दिएपछि अध्यक्ष खड्का र इन्जिनियर खनालबीच विवाद शुरू भएको कर्मचारी बताउँछन् ।

खानेपानी योजनाका अध्यक्ष खड्काले रु. ५ लाख ७० हजार पेस्की लिएर काम शुरू गर्नुभएको थियो । प्राविधिकले टिप्पणी उठाउँदा त्रुटि भएको भन्दै असार मसान्तको अन्तमा रु. १२ लाख मात्रै भुक्तानी दिइएपछि उक्त विवाद उत्कर्षमा पुगेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्