करोडौंको यार्सा पाटनमै कुहियो



वीरबहादुर बम, मुगु ।

कोरोना भाइरस (कोभिड–१९) का कारण लकडाउन गरिएकाले यो वर्ष मुगु जिल्लाको हिमाल (पाटन) मा पाइने करोडौं मूल्यको जडीबुटी यार्सागुम्बा कुहिएको छ ।

मुगुमकार्मारोग गाउँपालिकाका सानाकोखी, ठूलाकोखी, रिमाड, टाके, हङ्गादङ खोलालगायत दर्जनांै हिमाल तथा पाटनमा जेठ–असार, महिनामा पाइने बहुमूल्य जडीबुटी कुहिएका हुन् ।

देश पूर्णरूपमा लकडाउन भएका बेला मुगमकामारोङ्ग गाउँपालिकामा पाइने बहुमूल्य यार्सागुम्बा पाटनमा नै कुहिएको मुगमकामारोङ्ग गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज शाहीले बताउनुभयो । शाहका अनुसार विगतका वर्षमा यार्सागुम्बा संकलकहरूको प्रवेश शुल्कबाट १ करोड उठको थियो ।

मुगमकामारोङ्ग गाउँपालिकामा रहेको मुगु, डोल्फु, चितै, माग्री, पुलु, क्रिमी, रउस, दाउरा, महालगायत दर्जनौं बस्तीका मानिसको जीवन निर्वाहको मुख्य स्रोत नै यार्सागुम्बा हो । यो वर्ष यार्सा संकलनबन्द हुँदा यहाँका बासिन्दालाई जीवन निर्वाह गर्न समस्या हुने मुगुमकामारोङ्ग गाउँपालिका–१ का वडाध्यक्ष सोनाम आङ्गतिज तामाङ बताउनुहुन्छ ।

रोगले भन्दा भोकले ज्यान जाने हो कि भन्ने चिन्ता छ मुगुमकार्मारोग गाउँपालिका–२ का कर्मा लामाको ।

प्रतिक्रिया दिनुहोस्